२२ पूर्व अन्तर्राष्ट्रिय कप्तानद्वारा इमरान खानको स्वास्थ्य उपचारका लागि पुनः अपिल


काठमाडौँ । विश्वभरका २२ जना पूर्व अन्तर्राष्ट्रिय क्रिकेट कप्तानले पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफलाई पत्र लेख्दै पूर्व पाकिस्तानी कप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्य उपचारको व्यवस्था गर्न पुनः अपिल गरेका छन् ।
इमरान खानको स्वास्थ्य अवस्थाबारे चिन्ता व्यक्त गर्दै पूर्व कप्तानहरूले सर्वोच्च अदालतले दिएको निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ ।
पत्रमा सर्वोच्च अदालतले इमरानलाई उनका निजी चिकित्सक र बहिनी डा. उज्मा खानसमेत सहभागी मेडिकल बोर्डबाट स्वास्थ्य परीक्षण गराउन अस्पताल स्थानान्तरण गर्न आदेश दिएको उल्लेख गरिएको छ । अदालतले साप्ताहिक पारिवारिक भेटघाटको व्यवस्था पुनःस्थापित गर्नसमेत निर्देशन दिएको थियो ।
उनीहरूका अनुसार इमरानलाई केही घण्टामात्र अस्पतालमा राखिएको थियो । अदालतले निर्देशन दिएको बोर्डको सट्टा राज्यद्वारा नियुक्त टोलीले उनको स्वास्थ्य परीक्षण गरेको र उनलाई ‘चिकित्सकीय रूपमा फिट’ घोषणा गरेर जेल फर्काइएको पत्रमा उल्लेख छ । पूर्व कप्तानहरूले प्रधानमन्त्री शरीफसमक्ष तीन प्रमुख माग राखेका छन् ।
पहिलो, सर्वोच्च अदालतको निर्देशनअनुसार इमरानका निजी चिकित्सकसमेत सहभागी मेडिकल बोर्डलाई उनको स्वास्थ्यको पूर्ण र स्वतन्त्र मूल्यांकन गर्न दिनुपर्ने माग गरिएको छ । विशेषगरी उनको दाहिने आँखाको दृष्टि गुमेको भनिएको विषयमा विस्तृत परीक्षण गर्न आग्रह गरिएको छ ।
दोस्रो, अदालतले पुनःस्थापित गरेको साप्ताहिक पारिवारिक भेटघाटलाई कुनै अवरोध वा प्रशासनिक ढिलाइबिना निरन्तरता दिनुपर्ने उनीहरूको माग छ ।
तेस्रो, मेडिकल मूल्याङ्कनबाट उपचार आवश्यक देखिएमा सिफारिस गरिएको उपचारमा कुनै ढिलाइ गर्न नहुने उनीहरूले बताएका छन् ।
यो पछिल्लो पत्र पछिल्लो छ महिनामा पूर्व कप्तानहरूले इमरानको स्वास्थ्यका विषयमा पाकिस्तानी प्रधानमन्त्रीलाई गरेको दोस्रो अपिल हो । यसअघि फेब्रुअरीमा १४ जना पूर्व अन्तर्राष्ट्रिय कप्तानले इमरानको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै पत्र लेखेका थिए ।
इमरानको परिवारले जेलमा उचित उपचार नपाएका कारण उनको एउटा आँखाको दृष्टि लगभग पूर्ण रूपमा गुमेको दाबी गर्दै आएको छ । यद्यपि, पाकिस्तान सरकारले इमरानमाथि दुर्व्यवहार वा चिकित्सा बेवास्ता गरिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ ।
पूर्व कप्तानहरूले आफूहरूले इमरानको राजनीतिक विषयमा नभई क्रिकेटसँग जोडिएको सम्बन्धका आधारमा अपिल गरेको स्पष्ट पारेका छन् । उनीहरूले पाकिस्तानको आन्तरिक कानुनी प्रक्रियामाथि टिप्पणी वा हस्तक्षेप गर्न खोजेको नभई उनको स्वास्थ्य उपचारमा मानवीय दृष्टिकोण अपनाउन आग्रह गरेको बताएका छन् ।
पत्रमा हस्ताक्षर गर्ने २२ पूर्व कप्तानमा माइकल एथर्टन, एलेक्स ब्ल्याकवेल, एलन बोर्डर, माइकल ब्रेअर्ली, ग्रेग च्यापेल, इयान च्यापेल, बेलिन्डा क्लार्क, एलिस्टर कुक, माइकल ग्याटिङ, सुनील गावस्कर, ली जर्मोन, एडम गिलक्रिस्ट, डेभिड गोवर, किम ह्युजेस, नासेर हुसेन, क्लाइभ लोयड, कपिल देव, अर्जुन रणतुंगा, एन्ड्रयू स्ट्रस, दिलीप भेङ्सरकर, स्टिभ वा र जोन राइट रहेका छन् ।
इमरान खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए। प्रधानमन्त्री पदबाट हटेपछि उनीविरुद्ध विभिन्न मुद्दामा जेल सजाय सुनाइएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा उनलाई क्रमशः १०, १४ र १७ वर्षसम्मको जेल सजाय सुनाइएको छ । सन् २०२४ को निर्वाचनअघि पूर्वपत्नीबाट सम्बन्धविच्छेदपछि निर्धारित समय पूरा नगरी विवाह गरेको मुद्दामा समेत उनलाई सात वर्षको जेल सजाय सुनाइएको थियो ।
एम्नेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच तथा इन्टरनेशनल फेडरेसन अफ ह्युमन राइट्सलगायतका संस्थाले पनि इमरानको मुद्दाको निष्पक्षता तथा जेलमा उनको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् ।
इमरानका छोराहरूले उनलाई जेलमा ‘मृत्यु कक्ष’मा राखिएको र मनोवैज्ञानिक यातना दिइएको आरोप लगाउँदै आएका छन् । पाकिस्तान सरकारले भने यस्ता आरोपहरूलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।






















