दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास

निम्सदाइप्रति श्रद्धाञ्जली अर्पण गर्दै युएइको शार्जाहमा भव्य पार्क रन सम्पन्न

कबिराज राजबंशी
२०८३ भदौ ७ | मध्यान्ह ११:०५ बजे

IMG 20260823 WA0099

प्रवास, यूएई — हिमालयका साहसी आरोही तथा वीर निम्सदाइको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै स्वास्थ्य, फिटनेस तथा दौड संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ‘NIMS DAI TRIBUTE PARK RUN’ आइतबार शार्जाहस्थित बुहाइरा कर्निश (फुलेबुढा चोक) मा भव्य रूपमा सम्पन्न भएको छ।

नेपाल रन यूएईको आयोजनामा अगस्ट २३, २०२६ आइतबार बिहान ६ बजेदेखि सुरु भएको कार्यक्रममा यूएईमा कार्यरत नेपाली समुदायका विभिन्न क्षेत्रका व्यक्तित्व, सामाजिक अभियन्ता, खेलप्रेमी, धावक, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

 

कार्यक्रमको सुरुवात वीर निम्सदाइको सम्झनामा श्रद्धाञ्जली तथा मौनधारणबाट गरिएको थियो। त्यसपछि सहभागीहरूलाई नियमित व्यायाम, शारीरिक फिटनेस तथा स्वस्थ जीवनशैलीका विषयमा आवश्यक जानकारी र फिटनेस टिप्स प्रदान गरिएको थियो। सहभागी धावकहरूले निर्धारित क्षेत्रमा पार्क रनमा उत्साहपूर्वक सहभागिता जनाएका थिए।

 

कार्यक्रममा नेपाली महावाणिज्यदूतावास दुबईका महावाणिज्यदूत श्री हरिप्रसाद ओडारीकी धर्मपत्नी श्रीमती चन्द्रा पसाईको सहभागिता रहेको थियो। त्यस्तै, नेपाली समाज यूएईका प्रमुख सल्लाहकार, नवलपुर सेवा समाज यूएईका संरक्षक सदस्य तथा पाल्पाली समाज यूएईका संरक्षक बेदप्रसाद अर्यालको विशेष उपस्थिति रहेको थियो।

 

यसैगरी नवलपुर सेवा समाज यूएईका महासचिव रामप्रसाद ढकाल लगायत यूएईमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, खेलप्रेमी, युवा तथा सर्वसाधारणको बाक्लो सहभागिता रहेको आयोजकले जनाएको छ।

 

कार्यक्रममा दौडलाई केवल प्रतिस्पर्धाका रूपमा नभई स्वस्थ जीवनशैली, मानसिक स्फूर्ति, अनुशासन, आत्मविश्वास तथा सामाजिक एकताको माध्यमका रूपमा प्रस्तुत गरिएको थियो। नियमित दौड तथा शारीरिक गतिविधिले मानिसलाई स्वस्थ, सक्रिय र ऊर्जावान् राख्न महत्वपूर्ण भूमिका खेल्ने सन्देशसमेत दिइएको थियो।

 

कार्यक्रमलाई व्यवस्थित बनाउन सुजन थापाको नेतृत्वमा श्रद्धाञ्जली, सम्झना तथा मौनधारण कार्यक्रमसँगै फिटनेससम्बन्धी जानकारी र टिप्स प्रस्तुत गरिएको थियो। नेपाल रन यूएईका क्याप्टेन नवराज पाण्डे (फुलेबुढा) लगायत आयोजक तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

IMG 20260823 WA0098

कार्यक्रमको समन्वय तथा व्यवस्थापनमा गोपाल पराजुली, सुजन थापा तथा नेपाल रन यूएईको सम्पूर्ण टिमले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। सहभागी धावक तथा अतिथिहरूका लागि पानी र फलफूलको व्यवस्थापन सविता रिजाल पाण्डे र सोनम गुरुङले गरेका थिए।

 

त्यसैगरी कार्यक्रमको समापनमा सहभागी तथा अतिथिहरूका लागि फिटनेस नेपाली समूहले नास्ताको व्यवस्था गर्दै कार्यक्रमलाई थप आत्मीय र व्यवस्थित बनाउन सहयोग गरेको थियो। आयोजकका अनुसार ‘NIMS DAI TRIBUTE PARK RUN’ मार्फत यूएईमा नेपाली समुदायबीच फिटनेस र दौड संस्कृतिको विकास गर्ने, युवालाई शारीरिक गतिविधितर्फ आकर्षित गर्ने, नियमित व्यायामको महत्वबारे सचेतना फैलाउने तथा सामाजिक एकता र सद्भावलाई थप मजबुत बनाउने उद्देश्य राखिएको थियो।

 

स्वास्थ्य, खेलकुद, सामाजिक एकता र साहसी नेपालीहरूको सम्मानलाई एउटै अभियानमा जोडिएको उक्त पार्क रनले यूएईमा नेपाली समुदायबीच बढ्दै गएको दौड तथा फिटनेस संस्कृतिलाई थप प्रोत्साहन गरेको आयोजकको भनाइ छ।

IMG 20260823 WA0097

वीर निम्सदाइप्रतिको सम्मान र श्रद्धाञ्जलीसँगै स्वस्थ तथा सक्रिय जीवनशैलीको सन्देश बोकेको ‘NIMS DAI TRIBUTE PARK RUN’ शार्जाहमा नेपाली समुदायको उत्साहपूर्ण सहभागिताबीच सफलतापूर्वक सम्पन्न भएको छ।

कमेन्टहरु