भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या, हाेस्टेल सञ्चालकसहित तीन जनालाई पक्राउ


काठमाडौँ । काठमाडौँको शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। घटनामा संलग्न रहेको आरोपमा बारा, कलैया उपमहानगरपालिका–३ घर भएका १९ वर्षीय शेखर यादवलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो। घटनापछि फरार रहेका सोही ठाउँका १९ वर्षीय प्रमित पटेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा भैंसेबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, भ्याली ब्वाइज होस्टेलका सञ्चालक महोत्तरी, लोहरपट्टी नगरपालिका–६ घर भएका २३ वर्षीय आलोक ठाकुरलाई पनि आइतबार काठमाडौँको बुद्धनगरबाट पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार भदौ ५ गते बिहान करिब १०:१० बजे काठमाडौँ महानगरपालिका–१०, शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त बानेश्वरबाट टोली घटनास्थल पुगेको थियो।
प्रहरीले होस्टेलको कोठा नम्बर १०९ मा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीलाई होस्टेलको बाहिरी प्यासेजमा धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला पारेको थियो।उनलाई तत्काल उपचारका लागि निजामती कर्मचारी अस्पताल, मिनभवन पठाइएकोमा उपचारकै क्रममा सोही दिन दिउँसो १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। प्रहरीले घटनाको कारण तथा घटनामा संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




















