बिश्व

‘म उसलाई बुझ्छु, ऊ मलाई बुझ्छ’: किमसँगको संवाद सकारात्मक रहेको ट्रम्पको भनाइ

एजेन्सी
२०८३ भदौ २ | मध्यान्ह ०५:०५ बजे

वासिङ्टन डिसी । उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्ने आफ्नो प्रस्तावमा किमले सकारात्मक प्रतिक्रिया दिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले दुई देशबिचको संवाद सकारात्मक चरणमा पुगेको दाबी गरेका हुन्।

किमले वार्ताको प्रस्तावमा प्रतिक्रिया दिएको पुष्टि गर्दै ट्रम्पले उक्त सम्पर्कलाई ‘धेरै सकारात्मक’ भनेका छन्। यद्यपि उनले वार्ताबारे थप विवरण भने सार्वजनिक गरेका छैनन्। उत्तर कोरियाले पनि यस विषयमा तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। यसअघि आइतबार ट्रम्पले अमेरिकी रक्षा मन्त्रालयलाई दक्षिण कोरियासँग हुने संयुक्त सैन्य अभ्यासलाई उल्लेख्य रूपमा घटाउन निर्देशन दिएका थिए। यस्ता अभ्यास महँगो हुनुका साथै उत्तर कोरियालाई अनुचित र शत्रुतापूर्ण सङ्केत दिने दाबी ट्रम्पले गरेका छन्।

अर्कातिर, दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी–इजरायली युद्धमा सहयोग नगरेको भन्दै ट्रम्पले आलोचना गरेका छन्। दक्षिण कोरियाको सुरक्षाका लागि करिब ३९ हजार अमेरिकी सैनिक रहेको उल्लेख गर्दै उनले अमेरिकी सहयोग पाउने देशहरूले अमेरिकालाई सहयोग गर्नुपर्ने धारणा दोहोर्‍याए। दक्षिण कोरियाले भने सैन्य अभ्यास पूर्वनिर्धारित योजनाअनुसार अघि बढेको जनाएको छ। राष्ट्रपति ली जे म्युङको कार्यालयले अभ्यासको उद्देश्य उत्तर कोरियामाथि आक्रमण गर्नु वा कोरियाली प्रायद्वीपमा तनाव बढाउनु नरहेको स्पष्ट पारेको छ।

ट्रम्प प्रशासनले बारम्बार उत्तर कोरियाले युक्रेन युद्धका लागि रुसलाई उपलब्ध गराइरहेको सैन्य सहायताको विरोध गर्दै आएको छ। तर सोमबार ट्रम्पले किम जोङ उनले आफूलाई सधैँ निकै सम्मानका साथ व्यवहार गरेको बताएका छन्। ‘म उसलाई बुझ्छु,’ उनले भने, ‘ऊ पनि मलाई बुझ्छ।’

विश्लेषकहरूका अनुसार उत्तर कोरिया अहिल्यै प्रतिक्रिया नदिई केही समय पर्खने रणनीतिमा हुन सक्छ। वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका कोरिया कार्यक्रम प्रमुख भिक्टर चाले उत्तर कोरियाले तुरुन्तै प्रतिक्रिया दिनेमा शङ्का व्यक्त गरेका छन्।

ट्रम्प र किमबिच यसअघि ट्रम्पको पहिलो कार्यकालमा प्रत्यक्ष भेटवार्ता भएको थियो। दुवै नेताबिचको आणविक वार्ता सन् २०१९ मा उत्तर कोरियाको आणविक हतियार कार्यक्रमबारे सहमति हुन नसकेपछि रोकिएको थियो। त्यसयता ट्रम्पले किमसँग पुनः प्रत्यक्ष कूटनीतिक वार्ता सुरु गर्ने इच्छा पटक–पटक व्यक्त गर्दै आएका छन्।

कमेन्टहरु