कीर्तिमानी वर्षापछि दक्षिण कोरियामा पहिरोमा पुरिएर एक जनाको मृत्यु


सोल । दक्षिण कोरियाको दक्षिण–पूर्वी ग्योङसाङ प्रान्तमा अत्यधिक वर्षाका कारण पहिरो जाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सोमबार बिहान गोजे सहरमा पहिरोले एउटा अपार्टमेन्ट भवनको पहिलो तला पुरिएको थियो । उद्धारकर्मीहरूले भवनबाट तीन जनालाई बाहिर निकालेका थिए । तीमध्ये एक जनालाई पछि मृत घोषित गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
गोजेमा सोमबार एक घण्टामै १२४ दशमलव ५ मिलिमिटर वर्षा भएको थियो । सन् १९७२ मा मौसमसम्बन्धी अभिलेख राख्न थालिएयता उक्त सहरमा एक घण्टामा परेको यो सबैभन्दा धेरै वर्षा हो ।
आइतबारदेखि सोमबारसम्म रातभरमा गोजेमा ४०० मिलिमिटरभन्दा बढी वर्षा भएको थियो । भारी वर्षाका कारण सहरका सडकहरू जलमग्न भएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा सडकमा कारहरू पानीमा डुबेका देखिएका छन् ।
यो महिना पूर्वी तथा दक्षिण–पूर्वी एसियाका विभिन्न क्षेत्रमा लगातार आएको शक्तिशाली आँधी र भारी वर्षाका कारण बाढी तथा पहिरोको समस्या देखिएको छ । चीन, जापान र फिलिपिन्स पनि प्रभावित भएका छन् ।
जापानको चिबा प्रान्तमा पनि हालै भएको असाधारण वर्षाका कारण १० जनाको मृत्यु भएको थियो। हजारौँ यात्रु नारिता विमानस्थलमा अलपत्र परेका थिए ।






















