प्रबास

एयर इन्डियाका थप ३ जना पाइलट डोप परीक्षणमा फेल

एजेन्सी
२०८३ भदौ १ | मध्यान्ह ०१:०५ बजे

नयाँ दिल्ली । एयर इन्डियाका थप ३ जना पाइलट डोप परीक्षणमा फेल भएका छन् । पहिलो परीक्षणमा असफल भएपछि उनीहरूले भाङ्ग र गाँजा सेवन गर्छन् कि गर्दैनन् भनेर पक्का गर्न दोस्रो डोप परीक्षण गरिने भएको छ ।

यसले पाइलटहरू साँच्चै लागूपदार्थ खान्छन् कि खाँदैनन् वा अरू केही औषधिका कारण पो उनीहरूको डोप परीक्षण नकारात्मक आएको हो भनेर पुष्टि गर्ने बताइएको छ । अगस्ट ४ मा फुकेटबाट दिल्ली आइरहेको कम्पनीको उडान एआई–२३७९ मा टर्बुलेन्सको घटनापछि एयर इन्डियाले आफ्ना सबै पाइलटहरूको डोप परीक्षण गर्ने निर्णय गरेको थियो ।

फुकेट उडानको अनुसन्धानले धेरै सनसनीपूर्ण तथ्यहरू प्रकट गरेको छ । डोप परीक्षणको क्रममा पाइलटहरूले गाँजा सेवन गरेपछि उडान गरिरहेको पनि खुलासा भएको थियो । यस घटनापछि कम्पनीले आफ्नो सबै ५ हजार पाइलटहरूको डोप परीक्षण गराउने निर्णय गरेको थियो ।

यो नियमित डोप परीक्षण अघि कम्पनीले पहिले ३०० पाइलटहरूको परीक्षण गरेको थियो, जसमध्ये तीन जना डोप परीक्षणमा असफल भएका छन् । यी पाइलटहरूले गाँजालगायत कुनै पनि मादक पदार्थ सेवन गर्छन् कि गर्दैनन् भनेर निर्धारण गर्न दोस्रो डोप परीक्षण गरिनेछ ।

अगस्ट ४ मा टर्बुलेन्स आएको विमानका पाइलटहरू डोप परीक्षणमा फेल भएको र उनीहरूले गाँजा सेवन गरेको पाइएपछि एयर इन्डियाले अगस्ट १३ मा आफ्नो समूहका सबै ५ हजार पाइलटहरूको डोप परीक्षण गर्ने निर्णय गरेको थियो । यो परीक्षण अगस्ट १४ मा सुरु भएको छ ।

डोप परीक्षणमा फेल हुने र मादक पदार्थ सेवन गरेको पुष्टि हुने कुनै पनि पाइलटलाई कडा कारबाही हुने बताएको छ । अहिलेसम्म ३०० पाइलटहरूको डोप परीक्षण गरिएको छ । अब ४ हजार ७०० पाइलटहरूको परीक्षण हुन बाँकी छ । कम्पनीले द्रुत गतिमा डोप परीक्षण गराइरहँदा कयौँ पाइलटले अप्रत्याशित बिदा लिइरहेका छन् ।

कमेन्टहरु