बिश्व

रुस–युक्रेन युद्धमा आक्रमण किन तीव्र हुँदै छ ?

एजेन्सी
२०८३ भदौ १ | मध्यान्ह ०१:०५ बजे

काठमाडौं । रुस–युक्रेनबीचको हमला पूर्णकालीन युद्धमा प्रवेश गरेको साढे चार वर्ष पुग्न लागेको छ । यति बेला दुवै पक्षबीच हवाई तथा ड्रोन आक्रमण तीव्र बनेको छ ।

पछिल्ला दिनमा रुसले युक्रेनी सहर, ऊर्जा तथा औद्योगिक पूर्वाधारमा क्षेप्यास्त्र र ड्रोन आक्रमण बढाएको छ । युक्रेनले पनि रुसभित्र सयौँ लामो दूरीका ड्रोन प्रयोग गर्दै सैन्य, ऊर्जा र ‘लजिस्टिक’ संरचनालाई निसाना बनाइरहेको छ ।

यही अगस्ट १६ मा युक्रेनले रुसमाथि युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हवाई आक्रमणमध्ये एक गरेको छ । त्यसको जवाफमा रुसले पनि युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको रोयटर्सले जनाएको छ ।

हवाई आक्रमण रणनीतिक हतियार 
रुस र युक्रेन दुवैले जमिनमा तत्काल निर्णायक सफलता हासिल गर्न कठिन अवस्था सामना गरिरहेका छन् । यस्तो अवस्थामा हवाई आक्रमण अर्को पक्षको सैन्य क्षमता, ऊर्जा प्रणाली र मनोबल कमजोर बनाउने माध्यम बनेको छ ।

रुसले पछिल्ला महिनामा लामो दूरीका क्षेप्यास्त्र र ड्रोनमार्फत युक्रेनका सहरी तथा औद्योगिक क्षेत्रलाई निसाना बनाइरहेको छ । सन् २०२६ को पहिलो ६ महिनामा युक्रेनमा एक हजार ३९६ सर्वसाधारणको मृत्यु भएको छ । सात हजार ९७८ जना घाइते भएका छन् । सन् २०२५ को सोही अवधिको तुलनामा यो ३७ प्रतिशतले बढी भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

एकार्काको युद्ध अर्थतन्त्रलाई निसाना 
रुस–युक्रेन युद्ध अहिले केवल सैनिक र भूभाग कब्जाको प्रतिस्पर्धामा सीमित छैन । युद्ध चलाउने आर्थिक क्षमता कमजोर बनाउने रणनीति पनि उत्तिकै महत्त्वपूर्ण बनेको छ ।

युक्रेनले रुसभित्र सयौँ किलोमिटर टाढासम्म पुग्ने ड्रोन प्रयोग गरेर तेल, सैन्य उत्पादन तथा लजिस्टिक संरचनालाई निसाना बनाइरहेको फाइनान्सियल टाइम्सले जनाएको छ ।

अगस्ट १६ मा गरिएको आक्रमणमा मस्को वरपरका क्षेत्रमा सयौँ ड्रोन प्रहार र रुसको प्रमुख ई–कमर्स कम्पनी वाइल्डबेरीजको ठूलो लजिस्टिक केन्द्रमा आगलागी भएको रिपोर्ट छ । युक्रेनले उक्त कम्पनीका संरचना रुसी सैन्य आपूर्तिसँग जोडिएको आरोप लगाउँदै आएको छ ।

हालै युक्रेनको क्रिभी रिहमा रहेको ठूलो स्टिल उद्योगमा गरिएको रुसी आक्रमणबाट दुईजनाको मृत्यु भएको थियो । १४ जना घाइते भएका रोयटर्सले जनाएको थियो ।

उत्तर कोरियासँग रुसको सैन्य सहकार्य
रुसको आक्रमण क्षमतामा उत्तर कोरियासँगको सैन्य सहकार्य पनि महत्त्वपूर्ण कारक बनेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले उत्तर कोरियाबाट प्राप्त बलिस्टिक क्षेप्यास्त्र प्रयोग गरिरहेको आरोप लगाएका छन् ।

अगस्टमा जापोरिज्जियास्थित स्टिल उद्योगमा भएको रुसी आक्रमणमा उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरिएको उनको दाबी थियो । रुसले भने यो दाबीको औपचारिक पुष्टि नगरेको रोयटर्सले जनाएको थियो ।

रुस–उत्तर कोरिया सैन्य सहकार्यका अरू पक्षबारे अन्तर्राष्ट्रिय रूपमा व्यापक रिपोर्टिङ हुँदै आएको छ । यस्तो सहकार्यले रुसलाई लामो समयसम्म उच्चदरमा आक्रमण जारी राख्न आवश्यक हतियार र जनशक्ति उपलब्ध गराउन मद्दत गरिरहेको हुन सक्ने अनुमान छ ।

युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमाथि दबाब
रुसले बलिस्टिक क्षेप्यास्त्र र लामो दूरीका ड्रोनको प्रयोग बढाउनुको अर्को कारण युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमाथि दबाब सिर्जना गर्नु रहेकोे जनाइएको छ ।

विशेष गरी अमेरिकी प्याट्रियट प्रणाली युक्रेनका निम्ति अत्यन्त महत्त्वपूर्ण छ । तर, त्यसका इन्टरसेप्टर महँगा र सीमित रहेको रोयटर्सले जनाएको छ ।

पछिल्ला आक्रमणमा युक्रेनले ठूलो संख्यामा क्षेप्यास्त्र र ड्रोन रोक्न कठिनाइ भोगिरहेको रोयटर्सको रिपोर्ट छ । अगस्टको दोस्रो साता रुसले जापोरिज्जिया र अरू क्षेत्रमा गरेको आक्रमणमा बलिस्टिक क्षेप्यास्त्र प्रयोग भएको युक्रेनी अधिकारीले बताएका छन् ।

शान्ति वार्ताको चर्चा र युद्धको वास्तविकता विपरीत दिशामा
रुस र युक्रेनबीच शान्ति वार्ताको सम्भावनाबारे अन्तर्राष्ट्रिय कूटनीतिक प्रयास भइरहे पनि युद्धभूमिमा त्यसको तत्काल प्रभाव देखिएको छैन । यसको एउटा कारण दुवै पक्षले वार्तामा प्रवेश गर्नुअघि आफ्नो सैन्य तथा रणनीतिक स्थिति बलियो बनाउन खोज्नु रहेको विश्लेष्ण गरिएको छ ।

युद्धविराम वा अन्तिम शान्ति सम्झौतामा भूभाग, सुरक्षा ग्यारेन्टी, कब्जा गरिएका क्षेत्रको भविष्य र सैन्य व्यवस्थासम्बन्धी प्रश्न अत्यन्त जटिल छन् । त्यसैले दुवै पक्षले आक्रमण रोक्नुको सट्टा आफ्नो मोलमोलाइको शक्ति बढाउन खोजिरहेका हुनसक्छ ।

ड्रोन युद्ध नयाँ चरणमा प्रवेश
हालको युद्धको सबैभन्दा उल्लेखनीय परिवर्तनमध्ये एक लामो दूरीका ड्रोनको व्यापक प्रयोगलाई मानिएको छ ।

अगस्ट १६ मा युक्रेनले रुसका विभिन्न क्षेत्रमा ठूलो संख्यामा ड्रोन प्रहार गर्‍यो । रुसी अधिकारीले सयौँ ड्रोन निष्क्रिय पारेको दाबी गरे । आक्रमणका कारण केही क्षेत्रमा मानवीय तथा भौतिक क्षति भएको एसोसिएटका प्रेसले जनाएको छ ।

युक्रेनले आफ्नो घरेलु ड्रोन क्षमतामा उल्लेख्य सुधार गरेको छ । यसले तुलनात्मक रूपमा कम लागतमा रुसको धेरै गहिराइमा रहेका सैन्य र औद्योगिक लक्ष्यमा आक्रमण गर्ने क्षमता दिएको छ ।

यसको प्रतिक्रियामा रुसले पनि ड्रोन र क्षेप्यास्त्रको ठूलो मिश्रित आक्रमण प्रयोग गरिरहेको छ । परिणामस्वरूप दुवै पक्षबीच ‘ड्रोन–क्षेप्यास्त्रको प्रतिशोध चक्र’ विकास हुँदै गएको देखिन्छ ।

झन् गम्भीर बन्दै मानवीय क्षति
युद्धको सबैभन्दा ठूलो मूल्य सर्वसाधारणले चुकाइरहेका छन् । युक्रेनमा यस वर्ष जुनमा मात्र आक्रमणमा परी २९३ जनाको मृत्यु भएको छ । एक हजार ९९० जना घाइते भएका राष्ट्रसंघले जनाएको छ ।

रुसभित्र पनि युक्रेनी लामो दूरीका आक्रमणबाट सर्वसाधारणको क्षति बढेको छ । सन् २०२६ को पहिलो ६ महिनामा रुसमा २५० सर्वसाधारण मारिएका छन् । एक हजार ५९६ जना घाइते भएका विवरण छ ।

कमेन्टहरु