अपराध

जाजरकोटमा औषधि व्यवसायीको मृत्यु प्रकरण : पाँचजना पक्राउ

नवलपुर टुडे
२०८३ भदौ १ | बिहान ०५:०५ बजे

जाजरकोट । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी नगरपालिका–११, जगतीपुरमा औषधि पसल सञ्चालन गर्दै आएका ३२ वर्षीय दीपककुमार थापाको उपचारका क्रममा साउन २८ गते मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार, भेरी नगरपालिका–१०, नुवागाउँमा गत साउन २५ गते राति कुटपिटको घटना भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भेरी नगरपालिका–८ का ३३ वर्षीय वीरेन्द्र खत्री, भेरी नगरपालिका–९ का २१ वर्षीय नीरज रोकाय, सोही वडाका २१ वर्षीय शिशिर योगी गोसाईं, २४ वर्षीय लक्ष्मण रोकाय र २८ वर्षीय विनोद गोसाईं रहेका छन् ।

पक्राउ परेका पाँचैजनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, अदालतबाट म्याद थप भएसँगै घटनाको थप अनुसन्धान अघि बढाइएको छ । कुटपिटको कारण, घटनामा संलग्न व्यक्तिहरूको भूमिका तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु