प्रबास

ट्यारिफ हटाउन अमेरिकालाई कोलम्बियाको अनुरोध

एजेन्सी
२०८३ साउन ३१ | मध्यान्ह ०१:०४ बजे

बोगोता । कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएल्लाले अमेरिकालाई अमेरिकी भन्सारमा आफ्नो देशबाट जाने सामानमाथि लगाइएका अतिरिक्त भन्सार महसुल हटाउन आग्रह गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोनवार्तामा भूकम्पबाट प्रभावित आफ्नो देशमाथि लगाइएको ट्यारिफ अस्थायी रूपमा हटाउन  एस्प्रिएल्लाले आग्रह गरेका हुन् ।

कोलम्बियामा सोमबार गएको ७ दशमलव ४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर  कम्तीमा २९४ जनाको मृत्यु भएको छ । देशभर दशौँ हजार भवनमा क्षति पुगेको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि करिब ६ दशमलव ४ अर्ब डलर आवश्यक पर्ने अनुमान गरिएको छ ।

अमेरिकाले जुलाईको अन्त्यमा अधिकांश कोलम्बियाली सामानमाथिको ट्यारिफ १० प्रतिशतबाट बढाएर १२ दशमलव ५ प्रतिशत पुर्‍याएको थियो । तर कफी र तेलजस्ता केही वस्तुले यसबाट छुट पाएका छन् । अमेरिका कोलम्बियाको सबैभन्दा ठुलो निर्यात बजार हो । नयाँ ट्यारिफले पुनर्निर्माणको समयमा कोलम्बियाली व्यवसायमा थप दबाब पार्न सक्ने चिन्ताबिच एस्प्रिएल्लाले यस्तो अनुरोध गरेका हुन् ।

एस्प्रिएल्ला र ट्रम्पबिच फोनमा १० मिनेट कुराकानी भएको थियो । यस वार्तालाई एस्प्रिएल्लाले मैत्रीपूर्ण र सौहार्दपूर्ण भनेका छन् । भूकम्पपछि देश पुनर्निर्माण गर्न ठुलो आर्थिक चुनौती सामना गरिरहेको भन्दै अस्थायी रूपमा ट्यारिफ हटाउन आग्रह गरेका हुन् ।

एस्प्रिएल्लाले यसअघि ट्रम्पको समर्थनमा चुनाव जितेका थिए । पदभार ग्रहण गरेपछि उनले शिल्ड अफ अमेरिकाज नामक ट्रम्प नेतृत्वको लागुऔषध तथा कार्टेल विरोधी गठबन्धनमा कोलम्बियालाई सहभागी गराएका छन् । उनले अमेरिका र इजरायलसँग सैन्य सहकार्य बढाउने योजना समेत अघि सारेका छन् ।

कमेन्टहरु