प्रबास

तीन पाइलटलाई बन्दी बनाएको इरानी दाबी कतारले गर्‍यो अस्वीकार

एजेन्सी
२०८३ साउन ३१ | बिहान ११:०४ बजे

दोहा । आफ्ना तीन जना पाइलटलाई कतारले महिनौँदेखि हिरासतमा राखेको भन्ने इरानी सैन्य अधिकारीको दाबीलाई अस्वीकार गरेको छ । इरानले अमेरिकासँगको युद्धको सुरुवाती चरणमा कतारले पक्राउ गरेको दाबी गरिएका तीन जना इरानी पाइलटलाई रिहा गर्न माग गरेको समयमा कतारले यस्तो प्रतिक्रिया दिएको हो ।

अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रमुख मिर्जाना स्पोल्यारिकलाई पठाएको पत्रमा इरानी सशस्त्र बलका ब्रिगेडियर जनरल मोहम्मद बाघेरजादेहले जवाद सालेही, अब्दुल माजिद दश्तियान र इमरान बेहरोसियनलाई कतारले ६ महिनादेखि नियन्त्रणमा राखेको दाबी गरेका छन् ।

उनका अनुसार सन् २०२६ मार्च २ मा युद्धको तेस्रो दिन सैन्य कारबाहीका क्रममा दुई इरानी लडाकु विमान कतारको हवाई प्रतिरक्षा प्रणालीबाट निशाना बनाइएपछि ती तीन पाइलटले विमानबाट खसेका थिए । सोही घटनामा मारिएका चौथो पाइलट माजिद काजेमीको शव भने इरानलाई फिर्ता गरिएको बाघेरजादेहले बताएका छन् ।

यी तीन पाइलटलाई परिवारसँग भेट्न वा सम्पर्क गर्नसमेत नदिइएको आरोप लगाउँदै उनीहरूको अधिकार अन्तर्राष्ट्रिय कानुनविपरीत उल्लङ्घन भएको दाबी बाघेरजादेहले गरेका छन् ।

तर, कतारले भने इरानको आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद मोहम्मद अल–अन्सारीले इरानका दाबीलाई भ्रामक भन्दै आफूहरू आश्चर्यमा परेको बताएका छन् । अल–अन्सारीका अनुसार कतारको हवाई क्षेत्रमा घुसेपछि आवश्यक कदम चालिएको थियो ।

आफ्नो भूभागको रक्षा गर्न अन्तर्राष्ट्रिय कानुनअनुसार कारबाही गरिएको उनको भनाइ छ । कतारका खोज तथा उद्धार टोलीले पाइलटहरूको अवशेष खोज्ने जिम्मेवारी पूरा गरेको भन्दै भेटिएको एक शव हस्तान्तरणका लागि समन्वय गर्न सम्पर्क गरेको भएपनि इरानले अहिलेसम्म प्रतिक्रिया नदिएको उनले बताए ।

कमेन्टहरु