बिश्व

लेबनानमा इजरायली आक्रमण, ७ जनाको मृत्यु

एजेन्सी
२०८३ साउन ३० | मध्यान्ह ०६:०४ बजे

काठमाडाैँ । दक्षिणी लेबनानमा शनिबार भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको लेबनानी मिडियाले जनाएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले शनिबार अन्सार गाउँको बाहिरी भागमा इजरायली लडाकु विमानले आवासीय घरमा गरेको आक्रमणमा ७ जनाको मृत्यु हुनुका सथै अन्य तीन जना घाइते भएको रिपोर्ट गर्दै इजरायलले दक्षिणमा आफ्नो आक्रमण बढाएको बताएको छ ।

आक्रमणले एउटा घर ध्वस्त पारेको र आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषबाट निकालेर घाइतेहरूलाई अस्पताल लगिरहेको एजेन्सीले रिपोर्ट गरेको छ । यसअघि हेजबुल्लाहले लेबनानलाई आफ्नो समर्थक इरानको समर्थनमा इजरायलमा रकेट प्रहार गरेर मार्चमा मध्य पूर्व युद्धमा तानेको थियो ।

जसको इजरायलले भारी हवाई तथा मिसाएल आक्रमणको साथ प्रतिक्रिया दिँदा चार हजार ३०० भन्दा बढी मानिसहको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन् । मध्यपूर्व युद्धमा गत जुनमा अमेरिका–इरान समझदारी पत्रमा हस्ताक्षर भएसँगै लेबनान र इजरायलबीच अमेरिकी मध्यस्थतामा सम्झौता सफल भएपछि द्वन्द्व उल्लेखनीय रूपमा घटेको जनाइएको छ ।

यद्यपि लेबनानले अझै पनि इजरायली आक्रमणले कहिलेकाहीँ हताहत हुने गरेको र दक्षिणी गाउँ र सहरहरूमा नागरिक सम्पतीकोको व्यापक विध्वंसको रिपोर्ट गरिरहेको छ । एनएनएले अन्सार र जरारियाह बीचको उपत्यकामा पनि आक्रमण भएको जनाएको छ ।

इजरायली लडाकु विमानहरूले नबातीह क्षेत्रलाई रणनीतिक पाहाड अली अल–ताहेर रिजलाई लक्षित गरी शृङ्खलाबद्ध हवाई आक्रमण गरेको रिपोर्ट गरिएको छ । इजरायली सेनाले सीमा नजिकैको बिन्ट जेबिल सहरका घरहरूमा विस्फोट गरेको समाचार एजेन्सीले जनाएको छ ।

इजरायल–लेबनान सम्झौतामा हेजबुल्लाहको निः शस्त्रीकरण, दक्षिण लेबनानबाट इजरायली सेनाको क्रमिक फिर्ती लगायतका विषय समावेश गरिएको छ । हिजबुल्लाहका प्रमुख नईम कासिमले शुक्रबार लेबनानी अधिकारीहरूलाई सम्झौता कार्यान्वयन गरेर देशको सशस्त्र सेनालाई अनावश्यक दबाबमा पारेको आरोप लगाएको जनाइएको छ ।

मानवअधिकार बादीहरुले संयुक्त राष्ट्रसङ्घलाई लेबनानको शान्ति रक्षकहरूको जनादेश यस वर्षका लागि समाप्त भएपछि अन्तरराष्ट्रिय नेतृत्व कायम राख्न आग्रह गरेका छन् ।

कमेन्टहरु