समाज

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

रासस
२०८३ साउन ३० | मध्यान्ह ०४:०४ बजे

गुल्मी । वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका गुल्मीका किसानले तीन वर्षपछि क्षतिपूर्तिबापत राहत रकम प्राप्त गरेका छन् । जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार किसानलाई क्षतिपूर्तिबापत रु नौ लाख ६४ हजार ९०० उपलब्ध गराइएको छ ।

कार्यालयले सङ्कलित क्षतिको निवेदनअनुसार हालसम्म ७३ जना पशुधनमा क्षति पुगेका र एक जना मानवीय घाइते भएकासहित ७४ जनालाई उक्त राहत रकम उपलब्ध गराएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिए । उनका अनुसार विसं २०८० साउनदेखिविसं २०८२ कात्तिकसम्म वन्यजन्तुबाट भएको क्षतिको विवरण सङ्कलन गरिएको हो ।

उक्त अवधिमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा ९६ बाख्रा, १५ पाडा र एउटा कुखुरामा क्षति पुगेको उनले बताए । वन्यजन्तुले बालीनाली तथा पशुधनमा क्षति पुर्‍याए पनि लामो समयसम्म राहत नपाउँदा किसानले राहतका लागि पटकपटक डिभिजन वन कार्यालयमा ध्यानाकर्षण गराउँदै आएका थिए ।

वन्यजन्तुबाट क्षति भएपछि राहतका लागि निवेदन दिएको लामो समयपछि आफूले राहत रकम पाएको मदाने गाउँपालिका-४ का किसान लालबहादुर घर्तीले बताए । “निवेदन दिएको दुई वर्ष हुँदा पनि राहत नआएपछि आशा मर्दै गएका थियौँ । ढिलो गरी आए पनि खुसी लाग्यो”, उनले भने ।

पछिल्लो समयमा जिल्लाका ग्रामीण क्षेत्रमा चितुवा, बाँदर, बँदेललगायत वन्यजन्तुले पशुधन तथा बालीनालीमा क्षति पुर्‍याउने क्रम बढ्दै गएको सूचना अधिकारी सापकोटाले बताए । उनका अनुसार जिल्लामा सबैभन्दा बढी चितुवाको आक्रमणबाट किसानले क्षति व्यहोर्दै आइरहेका छन् ।

वरिष्ठ वन अधिकृतसमेत रहेका सापकोटाले जिल्लामा किसानले पशुधनको क्षतिबापतको राहत रकम प्राप्त गरे पनि वन्यजन्तुबाट बालीनालीमा पुगेको क्षतिको राहत भने हालसम्म उपलब्ध नभएको बताए । उनले २०८० देखि यससम्बन्धी राहतका लागि निवेदन आए पनि बालीनाली क्षतिबापतको रकम निकासा हुन नसकेको उल्लेख गरे ।

राहत रकम प्राप्त गर्नका लागि वन्यजन्तुबाट पीडित किसानले दिएको निवेदनका आधारमा जिल्लामा रहेको मूल्याङ्कन समितिमार्फत प्रदेश वन निर्देशनालयमा सिफारिस गरी पठाउने प्रावधान रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।

कमेन्टहरु