भन्सार महसुल छल्न चीनलाई भारत र क्यानडासहित ४० देशको सहयोग रहेको अमेरिकाको दाबी


वासिङ्टन डीसी । भन्सार महसुल कम लगाइएका देशतिर सामान पठाएर त्यहाँबाट अमेरिकामा सामान छिराउन चीनलाई कयौँ देशले सघाएको आरोप अमेरिकाले लगाएको छ।
अतिरिक्त भन्सार महसुल तिर्नबाट बच्न चीनलाई ४० भन्दा धेरै देशले सहयोग गरेको ह्वाइट हाउसले बिहीबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ।
यस विषयमा बीबीसीले सोधेको प्रश्नको जवाफमा वासिङ्टनस्थित चिनियाँ दूतावासका प्रवक्ताले ‘व्यापार युद्धको कोही विजेता हुँदैन’ भनेका छन्। अमेरिकाले कर असुल्न अपनाइरहेका उपायहरू र चीनका कम्पनीहरूलाई निशाना बनाउन गरेको राज्य शक्तिको प्रयोगको चीनले विरोध गर्ने उनले बताए।
कुनै पनि एकपक्षीय कार्य वा सम्झौताहरूले कयौँ जहाज फेरेर ल्याइएका सामानसम्बन्धी तेस्रो पक्षहरूको हितलाई लक्षित वा हानि पुर्याउन नहुने उनको जिकीर थियो।
अमेरिका र चीनबिच जस्तालाई तस्तै गर्ने नीति अनुरूप एकअर्काको देशबाट आउने सामानमाथि प्रतिबन्ध लगाउने होड चलिरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङको भेट हुनुभन्दा केही साताअघि यो टिप्पणी आएको हो। ह्वाइट हाउसले उद्धृत गरेको सरकारी र निजी क्षेत्रको अनुमान अनुसार अमेरिकामा कम ट्यारिफ लगाइएका देशहरूमार्फत धेरै ट्यारिफ तोकिएका देशहरूबाट ३० देखि ३०० अर्ब डलर बराबरका सामान आएका छन्। अमेरिकाले चीनलाई कम शुल्क भएका राष्ट्रहरूमार्फत सामान सारेर यस अभ्यासको फाइदा उठाएको आरोप लगाएको छ।
चीनले तेस्रो देशहरूलाई ट्रान्सफर स्टेसनका रूपमा प्रयोग गर्दै आएको र धेरै ट्यारिफ तिर्नबाट बच्न सामानको उत्पत्ति स्थल लुकाउँदै यसको पुनः प्याकेजिङ गर्ने गरेको ह्वाइट हाउसको प्रतिवेदनमा उल्लेख छ। यसलाई प्रतिवेदनमा ‘कागजी कार्यमा लुकेको ठगी’ भनिएको छ।
यस्ता ठगी पत्ता लगाउन अमेरिकाले एआई उपकरणहरू तैनाथ गरेको समेत जनाइएको छ। ट्रम्प र सीबिच सेप्टेम्बरमा अमेरिकामा भेट्ने कार्यक्रम तय भएको छ र सो भेटमा यस विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।






















