काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा बिहान ११:३० बजे हुने राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ ।
स्वास्थ्य उपचारका लागि पाँच महिना विदेश बसेका देउवा साउन २८ गते दिउँसो काठमाडौं फर्किएका थिए । उनलाई कांग्रेस नेता–कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।
कांग्रेस इतर समूहको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको बन्दसत्र साउन ३० र ३१ गते हुने छ । बन्दसत्रमा विभिन्न विषयगत छलफल हुने नयाँ नीति तथा कार्यक्रम तय हुने नेताहरुले बताएका छन् ।
भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान इतर समूहले गरेको छ ।
























