राजनीति

पाँच महिनापछि नेपाल आएका कांग्रेसका पूर्वसभापति देउवा सरकारसँग आक्रोशित, झाँकीदेखि देउडाले गरे स्वागत

नवलपुर टुडे
२०८३ साउन २८ | मध्यान्ह ०७:०४ बजे

काठमाडौं । पाँच महिनापछि हङकङबाट नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई नेता कार्यकर्ताले झाँकीसहित स्वागत गरेका छन् । देउवाको स्वागतका लागि विमानस्थलमा बिहीबार बिहानैदेखि कांग्रेसका नेता कार्यकर्ता विभिन्न सांस्कृतिक समूह बनाएर नाचगानसहित उपस्थित थिए ।

तारकेश्वरबाट आएका सांस्कृतिक समूहसँग मिसिँदै कतिपय कार्यकर्ता देउडा खेलिरहेका थिए। अन्तर्राष्ट्रिय टर्मिनलको आगमन कक्षमा देउवाको स्वागतमा नेताहरू शशांक कोइराला, एनपी साउद, प्रकाशशरण महत मीन विश्वकर्मा, दीपक खड्का एक ठाउँमा जम्मा भएका थिए । नेता पूर्णबहादुर खड्का केही समयपछि छुट्टै समूहका साथ प्रवेश गरे ।

देउवा १२ बजेर ३० मिनेटमा थाई एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । विमानबाट ओर्लिएपछि उनी ‘एस्केलेटर’ हुँदै आगमन कक्षतर्फ आएका थिए । विमानस्थलको बाहिरिने गेटसम्म आइपुग्न उनलाई करिब आधा घण्टा लागेको थियो ।

देउवा बाहिरिने क्रममा विमानस्थल परिसर ‘नेपाली कांग्रेस जिन्दावाद’ लगायतका नाराले गुञ्जिएको थियो । उनी बाहिरिने गेटसम्म पुग्दासम्म नेता तथा कार्यकर्ताले उनलाई घेरेका थिए ।

कमेन्टहरु