मुद्दाका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको काममा जटिलता छैन : राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दाका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा कुनै जटिलता नरहेको बताएको छ ।
बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा नेपाल राष्ट्र बैंकले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालनबारे अनुगमन भइरहेको बताएको छ । विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय–सुझाव लिई छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले बैंकको तरलताको अवस्था तथा वित्तीय सबलताका परिसूचकहरू तोकिएको मापदण्डअनुसार सन्तोषजनक रहेको जनाएको छ । बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था नदेखिएको पनि राष्ट्र बैंकको भनाइ छ।
राष्ट्र बैंकले कानुनबमोजिम सञ्चालक समिति, उच्च व्यवस्थापन तथा बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने ब्यहोरा समेत जानकारी गराएको छ ।






















