अमेरिकाले १० प्रतिशत प्याट्रियट मिसाइल दिए रुसका सबै ब्यालिस्टिक आक्रमण रोक्न सकिन्छ : जेलेन्स्की


किभ । रुसले युक्रेनमाथिको आक्रमण तीव्र पारिरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकासँग थप प्याट्रियट इन्टरसेप्टर मिसाइल मागेका छन् । अमेरिकाले आफ्नो मौज्दातबाट १० प्रतिशत प्याट्रियट इन्टरसेप्टर मिसाइल मात्र उपलब्ध गराए पनि रुसबाट हुने सबै ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न सकिने दाबी जेलेन्स्कीले गरेका छन् ।
सीएनएनसँगको अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनसँग प्याट्रियट इन्टरसेप्टर मिसाइलको मौज्दात लगभग सकिएको अवस्थामा रुसले राजधानी किभलगायतका क्षेत्रमा आक्रमण बढाइरहेको बताएका हुन् । उनका अनुसार अमेरिकाबाट १० प्रतिशत मिसाइल प्राप्त भए रुसका सबै ब्यालिस्टिक मिसाइल आक्रमण रोक्न पर्याप्त हुनेछ । पाँच प्रतिशत मिसाइल प्राप्त भए पनि जाडोयामसम्म युक्रेनलाई टिकाउन पर्याप्त हुने उनको दाबी छ ।
अमेरिका र खाडी मुलुकहरूले इरानसँगको युद्धका क्रममा इरानी मिसाइल तथा ड्रोन रोक्न ठूलो सङ्ख्यामा इन्टरसेप्टर प्रयोग गरेपछि विश्वभर यस्ता मिसाइलको अभाव देखिएको छ । यसको असर युक्रेनमा समेत परेको छ । रुसी आक्रमणका बेला युक्रेनका केही सहर पर्याप्त हवाई प्रतिरक्षाविहीन देखिने गरेका छन् ।
जेलेन्स्कीले थप प्याट्रियट मिसाइल प्राप्त गर्न अमेरिकी अधिकारी तथा अन्य सहयोगी राष्ट्रसँग निरन्तर सम्पर्क गरिरहेको बताएका छन् । सहयोगीहरूसँग फोन तथा सन्देशमार्फत नियमित कुराकानी गर्दै मिसाइल प्राप्तिका लागि विभिन्न सम्झौता र सहकार्यका प्रयास भइरहेको उनको भनाइ छ ।
हालै जेलेन्स्कीले अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग पनि फोनवार्ता गरेका थिए । तर उनले उक्त वार्ताको विवरण सार्वजनिक गर्न अस्वीकार गरेका छन् । फाइनान्सियल टाइम्सका अनुसार भान्सले कृष्ण सागरमा रहेका रुसी बन्दरगाहमाथि युक्रेनले गरिरहेको आक्रमण रोक्न आग्रह गरे वा नगरेकोसमेत स्पष्ट भएको छैन ।
यसैबीच, अमेरिकाले युक्रेनलाई आफ्नै प्याट्रियट इन्टरसेप्टर मिसाइल उत्पादन गर्न अनुमति दिने विषयमा अझै स्पष्ट निर्णय गरेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि युक्रेनलाई उत्पादन अनुमति दिन सकिने बताएका थिए । तर केही दिनपछि उनले उक्त योजनाबारे आफू निश्चित नभएको बताएका थिए ।
जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न अमेरिकी संलग्नता थप बढाउनुपर्नेमा जोड दिँदै आएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अहिले युद्ध रोक्न इच्छुक नरहेको र उनलाई युद्ध अन्त्य गर्न पर्याप्त दबाब नपरेको उनको दाबी छ ।
युक्रेनले डोनबास क्षेत्रमा रुसले दाबी गरेको बाँकी भूभाग छाड्ने प्रस्तावसमेत अस्वीकार गर्दै आएको छ । जेलेन्स्कीका अनुसार दीर्घकालीन सुरक्षा प्रत्याभूति युक्रेनका लागि मुख्य विषय हो ।
“जब रूसले यो युद्धको बारेमा बोल्न थाल्छ र उनीहरू क्षेत्रको बारेमा कुरा गर्छन्, मुख्य प्रश्न यो हो कि ठूलो विरामपछि ऊ १० वा २० लाख थप सैनिक बोकेर फेरि आउँदैन भन्न सकिन्छ र ? ऊ हामीलाई कब्जा गर्न फेरि किन आउँदैन ?” उनले प्रश्न गरेका छन् ।
पश्चिमी केही मूल्याङ्कनसँग आफू सहमत रहेको बताउँदै जेलेन्स्कीले पुटिनले भविष्यमा नेटोको एकता परीक्षण गर्ने उद्देश्यले बाल्टिक क्षेत्रका साना नेटो सदस्य राष्ट्रमाथि समेत आक्रमण गर्न सक्ने सम्भावना रहेको बताए ।
“आफ्नो समाजका लागि ठूलो कब्जा नगरीकन वा ठूलो विजयबिना यो युद्ध कसरी टुङ्ग्याउने भन्ने कुरा उसलाई थाहा नै छैन । केही सानो देश खोज्नु धेरै सजिलो छ … उसको लागि त्यो देश नेटोमा छ वा छैन भन्ने कुरा महत्त्वपूर्ण हुनेछैन । आफूले नै जित्छु, कब्जा गर्छु, नष्ट गर्छु वा नियन्त्रणमा राख्छु भन्नेमा ऊ शतप्रतिशत ढुक्क छ”, जेलेन्स्कीले भनेका छन् ।






















