पाँचवटा संसदीय समितिको बैठक बस्दै


काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्न लागेको हो ।
बिहान साढे ९ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’मा परेको संशोधनहरूमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान १० बजे बस्नेछ ।
कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘जैविक तथा प्रांगारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता सम्बन्धमा’ छलफल हुँदै छ । बैठक बिहान ११ बजे बस्नेछ । पूर्वाधार विकास समितिको बैठकमा खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
महिला तथा सामाजिक विकास समितिको बैठकमा ‘राष्ट्रिय दलित आयोगको काम कारबाही तथा प्रगति’ सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।





















