काठमाडौँ महानगरपालिकाले १२ सामुदायिक विद्यालयको पूर्वाधार विकास गर्दै

रासस


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । त्यसका लागि रु ६२ करोड २८ लाख बराबर खर्च गरिने छ ।
विद्यालयको भौतिक अवस्थालाई प्रचलित मापदण्डअनुसार सुधार गर्न विद्यार्थी सङ्ख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम तथा पूर्वाधारको आवश्यकताका आधारमा बजेट उपलब्ध गराइने कामपा शिक्षा विभागले जनाएको छ ।
सहरी योजना आयोगले गरेको अध्ययनका आधारमा विद्यालयको पूर्वाधार निर्माणका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाइएको कामपा शिक्षा विभाग प्रमुख नवराज ढकालले जानकारी दिए ।
ढकालका अनुसार प्रत्येक विद्यालयको जिपिएस लोकेसन, विद्यार्थी र जग्गाको अनुपात तथा बाढीजस्ता प्राकृतिक जोखिमको अवस्था पनि अध्ययन गरेपछि मात्र लगानीको प्रस्ताव अघि सारिएको हो ।
“सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी र समयको मागअनुसार बनाउन हामीले लगानी बढाएका छौँ,” कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भनिन्, “बालमैत्री सिकाइ, प्रविधिमा आधारित कक्षाकोठा, वातावरणीय सुधार र सजावट तथा प्रयोगात्मक अभ्यासका अवसरजस्ता सुविधा समान रूपमा उपलब्ध गराउने हाम्रो योजना छ ।”
शिक्षा विभागका महाशाखा प्रमुख सुशील सुवेदीले विद्यालयको खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए
शिक्षा विभागले वडा नं १४ मा रहेको जनविकास माध्यमिक विद्यालय र वडा नं २८ मा रहेको पद्मोदय माध्यमिक विद्यालयको भवन निर्माणको प्रक्रिया अघि बढाएको छ ।
त्यसका लागि क्रमशः रु पाँच करोड ६७ लाख ६८ हजार ८६२ र रु १५ करोड ३५ लाख ७४ हजार बजेट विनियोजन गरिएको छ ।
सार्वजनिक निर्माण विभागमार्फत छ वटा विद्यालयको पूर्वाधार निर्माणका लागि खरिद प्रक्रिया अघि बढाइएको छ ।
त्यसअन्तर्गत वडा नं २४ मा रहेको श्री कान्ति ईश्वरी राज्यलक्ष्मी आधारभूत विद्यालयका लागि रु पाँच करोड ५७ लाख ४९ हजार बराबरको बजेट उपलब्ध गराइनेछ ।
त्यस्तै, वडा नं २६ मा रहेको शान्ति विद्या गृह माध्यमिक विद्यालयको भवन निर्माणका लागि रु आठ करोड ५७ लाख ४२ हजार बजेट उपलब्ध हुने छ । वडा नं २९ को अटिजम स्कुलका लागि रु १० करोड ९१ लाख ७९ हजार विनियोजन गरिएको छ ।
रु एक करोड ८३ लाख २९ हजार बराबरको लागतमा दरबार हाई स्कुलको बहुउद्देश्यीय सभा कक्ष निर्माण गरिने छ । रु ८४ लाख १२ हजारको लागतमा महेन्द्र मावि बौद्धको मर्मत सम्भार गरिनेछ ।
रु नौ करोड ६२ लाख ५४ हजारको लागतमा कन्या माध्यमिक विद्यालयको छात्रावास तथा कक्षाकोठा निर्माणका लागि खरिद प्रक्रिया सुरु भइसकेको विभागले जनाएको छ ।

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : पोखरेल

हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त बने भोजपुरका किसान

प्रमुख सिँचाइ नहर प्रणाली पूर्ण क्षमतामा सञ्चालन

लक्ष्यभन्दा चार अर्ब बढी राजस्व उठायो भैरहवा भन्सारले
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंमा प्रहरीको स्वीप अपरेसन, एक सातामा ६४० जना पक्राउ

बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै

यस्तो छ विदेशी मुद्राको विनिमय दर

फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
















