राममणि बहुमुखी क्याम्पसमा विद्यार्थी गुणस्तर समूहको आयोजनामा अन्तक्र्रियात्मक प्रशिक्षण


मणिग्राम, श्रावण २७ । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पस, विद्यार्थी गुणस्तर समूहको आयोजनामा अन्तक्र्रियात्मक प्रशिक्षण आज (बुधबार) सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले तय गरेको मूल सन्देश “भिन्न परिवेश, साझा आकांक्षा” (Different Contexts, Common Aspirations) मा आधारित रही कार्यक्रम गरिएको थियो ।
कार्यक्रमका श्रोतव्यक्ति प्राज्ञिक व्यक्तित्व एवम् युवा उद्यमी, मणिग्राम विश्राम बाटिकाका प्रबन्ध निर्देशक प्रणदा आचार्य दीक्षितले नेपाली युवाशक्तिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रभावबारे प्रकाश पार्नुभएको थियो । आफूले युरोपमा अध्ययन गरेपनि नेपालबाटै विस्तारित रूपमा अघि बढ्नका लागि नेपाली सँस्कृतिमा आधारित रही आतिथ्य सत्कार एवम् पर्यटन विकासको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।
विद्यार्थी गुणस्तर समूहका सृजना काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा भाग लिँदै विद्यार्थीहरू चन्दा थापा, अनिषा न्यौपाने, प्राध्यापकहरू डा. अशोक भण्डारी, मुक्तिनाथ गैह्रे लगायतले जिज्ञासा राख्नुभएको थियो ।
सहायक क्याम्पस प्रमुख खुमकान्त पाण्डेको स्वागतमा भएको कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख तारा प्रसाद पराजुलीले जस्तोसुकै वर्गमा जन्म भएपनि जीवनको सफलता र प्रभाव परिश्रम गर्नेको पक्षमा रहने बताउनुभयो । कार्यक्रममा स्नातक तहका करिब १५० विद्यार्थी सहित प्राध्यापक र कर्मचारीहरूको सहभागिता रहेको थियो ।






















