समाज

फोनिजको २७औँ स्थापना दिवस मनाइँदै, मातृभाषा पत्रकारिताबारे छलफल

नवलपुर टुडे
२०८३ साउन २७ | मध्यान्ह १२:०४ बजे

काठमाडौं, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २७औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइरहेको छ। स्थापना दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी आयोजना गरिएको छ भने तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन पनि जारी रहेको छ।

IMG 4171

स्थापना दिवसका अवसरमा आयोजित प्रभातफेरीमा विभिन्न जातीय पत्रकार संगठनका प्रतिनिधिहरू आ–आफ्ना ब्यानर, सांस्कृतिक झाँकी तथा परम्परागत भेषभूषासहित सहभागी भएका थिए। बसन्तपुरबाट सुरु भएको प्रभातफेरी दरबारमार्ग हुँदै राष्ट्रिय सभागृह पुगेको थियो।

68a72b94309cf580700e8760823fdfcd

राष्ट्रिय सभागृहमा पुगेपछि कार्यक्रम मातृभाषा पत्रकारिता तथा आदिवासी जनजाति सञ्चारसम्बन्धी विषयमा केन्द्रित प्यानल छलफलमा परिणत भएको थियो। छलफलको पहिलो सत्रमा नेपालका विभिन्न आदिवासी जनजाति समुदायका पत्रकार तथा मातृभाषामा सञ्चालित सञ्चारमाध्यमहरूको वर्तमान अवस्था, उपलब्धि, चुनौती र सम्भावनाबारे प्रस्तुति दिइएको थियो।

IMG 4237

कार्यक्रममा सहभागी पत्रकारहरूले मातृभाषा पत्रकारिताको संरक्षण, प्रवर्द्धन तथा संस्थागत विकासका लागि राज्यको थप सहयोग आवश्यक रहेको धारणा राखेका थिए। सम्मेलनमा स्वदेश तथा विदेशबाट आएका पत्रकार, सञ्चारकर्मी, सञ्चारविद् र विभिन्न भाषिक समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

IMG 4239

फोनिजले स्थापना दिवसलाई मातृभाषा पत्रकारिताको विकास, भाषिक अधिकारको संरक्षण र आदिवासी जनजाति समुदायको सञ्चार पहुँच विस्तारका विषयमा बहस र छलफल गर्ने अवसरका रूपमा मनाउँदै आएको छ।

IMG 4240

कमेन्टहरु