समाचार

कपिलवस्तु र सुनसरी घटनामा न्यायिक प्रक्रिया फरक भएको भन्दै प्रश्न, वर्गदा घटनाका मृतक अरुण यादवलाई शहीद घोषणा गर्न माग

नन्द किशोर कुर्मी (लालु)
२०८३ साउन २७ | मध्यान्ह १२:०४ बजे

कपिलवस्तु । कपिलवस्तु र सुनसरीमा भएका घटनाको प्रकृति समान रहेको भन्दै पीडित पक्षले सरकारले अपनाएको न्यायिक प्रक्रियामाथि प्रश्न उठाएका छन्। कपिलवस्तुको वर्गदा घटनामा प्रहरीको गोली लागेर घाइते भएका अरुण यादवको उपचारका क्रममा मृत्यु भएको भन्दै उनको परिवार तथा स्थानीयले घटनाको निष्पक्ष छानबिन, उचित राहत तथा क्षतिपूर्ति र यादवलाई शहीद घोषणा गर्नुपर्ने माग अघि सारेका छन्।

उनीहरूले सुनसरी घटनामा मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइएको अवस्थामा कपिलवस्तुका अरुण यादवको हकमा भने किन फरक व्यवहार गरिएको भन्दै सरकारसँग जवाफ माग गरेका छन्। पीडित पक्षको प्रश्न छ, “एउटै प्रकृतिका घटनामा राज्यको न्यायिक प्रक्रिया किन फरक–फरक भयो? शहीद घोषणा गर्ने मापदण्ड के अरुण यादवलाई पनि शहीद घोषणा गर्न किन ढिलाइ भइरहेको छ?”
स्थानीय तथा पीडित पक्षले कुनै पक्षलाई पूर्वाग्रही रूपमा दोषी ठहर गर्नुभन्दा घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले अरुण यादवको मृत्युको वास्तविक कारण सार्वजनिक गर्दै दोषी देखिएमा कानुनअनुसार कारबाही गर्न र परिवारलाई न्याय तथा उचित राहत उपलब्ध गराउनसमेत माग गरेका छन्।

पीडित पक्षको मुख्य माग:
अरुण यादवलाई शहीद घोषणा गरियोस्। परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराइयोस्। घटनाको निष्पक्ष छानबिन गरियोस्।
समान प्रकृतिका घटनामा समान न्यायको मापदण्ड लागू गरियोस्। अरुण यादवको मृत्युबारे सरकारबाट स्पष्ट जवाफ दिइयोस्। “न्यायमा विभेद स्वीकार्य छैन, अरुण यादवको मृत्युको जवाफ चाहिन्छ,” पीडित पक्षको भनाइ छ।

कमेन्टहरु