युक्रेनमाथि आक्रमण गर्न रुसले उत्तर कोरियाली मिसाइल प्रयोग गरिरहेको जेलेन्स्कीको दाबी


किभ । युक्रेनमाथि आक्रमण गर्न रूसले आफ्ना सहयोगी उत्तर कोरियाबाट प्राप्त ब्यालिस्टिक क्षेप्यास्त्र प्रयोग गरिरहेको दाबी युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेका छन् ।
युक्रेनको दक्षिणपूर्वी सहर जापोरिज्जियामा भएको पछिल्लो रुसी आक्रमणमा उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरिएको जेलेन्स्कीले भने । उक्त आक्रमणमा कम्तीमा ६ जनाको मृत्यु भएको र १९ जना घाइते भएको बताइएको छ ।
यसअघि पनि जेलेन्स्कीले बारम्बार रूसलाई उत्तर कोरियाबाट सैन्य सहयोग प्राप्त भइरहेको आरोप लगाएका थिए । ५० हजारसम्म उत्तर कोरियाली सैनिक रूसी भूभागको रक्षा गर्ने सैन्य अभियानमा सहभागी हुन पठाइन सक्ने चेतावनी सप्ताहन्तमा उनले दिएका थिए । रूस र उत्तर कोरियाबीच पछिल्ला वर्षहरूमा सैन्य सहकार्य बढेको छ । तर दुवै देशले युक्रेन युद्धमा उत्तर कोरियाली क्षेप्यास्त्र वा ठूलो संख्यामा सैनिक प्रयोग भएको विषयमा गरेका आरोपलाई लिएर विभिन्न समयमा फरक–फरक प्रतिक्रिया दिएका छन् ।
युक्रेन र रूसबीच रातभर एकअर्कामाथि हवाई आक्रमण जारी रह्यो । रूसको दक्षिणी भागमा पर्ने भोरोनेज क्षेत्रमा युक्रेनले अनलाइन खुद्रा व्यापार कम्पनी वाइल्डबेरीजसँग सम्बन्धित गोदाम तथा लजिस्टिक केन्द्रमा ड्रोन आक्रमण गरेको रिपोर्ट आएको छ । रूसको ‘अमेजन’जस्तै मानिने वाइल्डबेरीजका विभिन्न गोदाम यसअघि पनि युक्रेनी ड्रोन आक्रमणको निशानामा पर्दै आएका छन् । कम्पनीले भोरोनेज क्षेत्रमा रहेका आफ्ना केही संरचना खाली गरिएको जनाएको छ, तर पछिल्लो घटनालाई तत्काल आक्रमणका रूपमा पुष्टि गरेको छैन ।






















