नगर प्रमुख भामको स्पष्टीकरण : सेवा–सुविधा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको सेवाका लागि

मुगु । छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले आफूले प्राप्त गर्दै आएको सेवा–सुविधाबारे सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन्। पत्रकार सम्मेलनका लागि जारी गरिएको लिखित वक्तव्यमा नगर प्रमुख भामले आफूले पाउने सेवा–सुविधा कानुनबमोजिम रहेको र त्यसलाई व्यक्तिगत स्वार्थका रूपमा नलिन आग्रह गरेका छन्।
नगर प्रमुख भामका अनुसार निर्वाचनका बेला आफूले जनतासँग पाँच वर्षको सेवा–सुविधा त्यागेर एम्बुलेन्स खरिद गर्ने प्रतिबद्धता जनाएका थिए। तर निर्वाचनपछि नगरपालिकाको उपलब्ध एम्बुलेन्स सञ्चालन अवस्था, स्थानीय आवश्यकता तथा व्यवहारिक परिस्थितिलाई मूल्याङ्कन गर्दा उक्त योजनालाई पुनर्विचार गर्नुपर्ने अवस्था आएको उनले बताएका छन्।
उनले आफ्नो पाँच वर्षे व्यक्तिगत सेवा–सुविधा तथा बैठक भत्ता लगायतको विवरणसमेत सार्वजनिक गरेका छन्। प्रस्तुत विवरणअनुसार विभिन्न सेवा–सुविधा तथा कार्यक्रमका लागि रकम छुट्याइएको उल्लेख छ।
वक्तव्यमा नगर प्रमुख भामले “राजनीति व्यवसाय होइन, सेवा हो” भन्दै जनप्रतिनिधिको पद सुविधा भोग्नका लागि नभई जनताको जिम्मेवारी पूरा गर्नका लागि भएको बताएका छन्।
उनले छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकासहितका क्षेत्रमा एम्बुलेन्स सेवा सञ्चालन भइरहेको उल्लेख गर्दै अबको प्राथमिकता शिक्षा, विपन्न तथा दलित परिवारलाई सहयोग र सार्वजनिक पूर्वाधार निर्माणमा स्रोत परिचालन गर्ने रहेको बताएका छन्।
नगर प्रमुख भामले पत्रकार तथा सञ्चारकर्मीलाई आफूले गरेका कामको प्रचार मात्र नभई कमजोरी देखाएर खबरदारी गर्नसमेत आग्रह गरेका छन्।
उनको वक्तव्यमा भनिएको छ, जनताको विश्वास कायम राख्दै स्थानीय सरकारलाई पारदर्शी र जवाफदेही बनाउने अभियानमा सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको छ।
अन्त्यमा नगर प्रमुख भामले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता आफ्नो नैतिक जिम्मेवारी भएको बताउँदै परिस्थितिअनुसार योजना परिमार्जन गर्नुपरे पनि त्यसको उद्देश्य जनताको हित नै हुनुपर्ने स्पष्ट पारेका छन्।


























