समाज

३२औँ विश्व आदिवासी दिवस यूएईमा भव्य रूपमा सम्पन्न

कबिराज राजबंशी
२०८३ साउन २६ | मध्यान्ह ०२:०४ बजे

दुबई । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएईको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस–२०२६ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम अगस्ट ९, आइतबार, बरदुबईस्थित SK7 रेस्टुरेन्टको सभा हलमा आयोजना गरिएको थियो।

यूएईमा रहेका विभिन्न आदिवासी जनजाति समुदाय, जातीय संघ–संस्था, सामाजिक अभियन्ता तथा नेपाली समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता नेफिन यूएईका अध्यक्ष भागरथी कुमार भगतले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाली महावाणिज्यदूतावास यूएईका महावाणिज्यदूत कुन्जन कुमार साहको उपस्थिति रहेको थियो। कार्यक्रममा नेफिन यूएईका निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक विक्रम लिम्बू, एनआरएनए एनसीसी यूएईका अध्यक्ष भीम मल्ल ठकुरी, नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तान लगायत विभिन्न आदिवासी जनजाति जातीय संस्थाका प्रमुख तथा प्रतिनिधि, जिल्ला तथा नगरस्तरीय संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात दीप प्रज्वलन, नेपाल तथा यूएईको राष्ट्रिय गान र आदिवासी राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि नेफिनमा आबद्ध विभिन्न जातीय संस्थाका कलाकारहरूले सामूहिक सांस्कृतिक नृत्य तथा प्रस्तुतिमार्फत अतिथि र दर्शकलाई स्वागत गरेका थिए।

कार्यक्रममा विभिन्न जातीय संस्थाका प्रमुख तथा विशेष अतिथिहरूले शुभकामना मन्तव्य राख्दै विश्व आदिवासी दिवसको महत्व, आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति, परम्परा तथा अधिकार संरक्षणका विषयमा जोड दिएका थिए।

772401160 2289908875090111 2553637372437415922 n

फोनिज यूएईको नयाँ कार्यसमितिको औपचारिक घोषणा

सोही अवसरमा गत १२ जुलाईमा सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूएईको तेस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको औपचारिक घोषणा समेत गरिएको थियो।

प्रमुख निर्वाचन संयोजक विक्रम लिम्बू, निर्वाचन उपसंयोजक बुद्धि मेवाहाङ राई र निर्वाचन सदस्य कुमार बलामीले नयाँ कार्यसमितिको औपचारिक घोषणा गरेका थिए।

मौलिक झाँकी र सांस्कृतिक प्रस्तुतिले बढायो रौनक

कार्यक्रमको प्रमुख आकर्षण विभिन्न आदिवासी जनजातिका मौलिक झाँकी, भेषभूषा तथा सांस्कृतिक प्रस्तुतिहरू बनेका थिए। विभिन्न जातजातिका मौलिक कला, संस्कृति र परम्परा झल्काउने झाँकीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

झाँकी कार्यक्रम Mr. & Miss Indigenous 2025 का विजेता किशनलाल चौधरी र देवी माया सुनुवारले संयुक्त रूपमा सञ्चालन गरेका थिए। सहभागीहरूले आ–आफ्नो मौलिक भेषभूषामा सजिएर संस्कृति र परम्पराको प्रदर्शन गर्दै आदिवासी जनजातिको विविधताभित्रको एकता र सहअस्तित्वको सन्देश दिएका थिए।

कार्यक्रमको औपचारिक सञ्चालन नेफिन यूएईका महासचिव मनिषा लिम्बू र सचिव देव घर्तीले संयुक्त रूपमा गरेका थिए।

औपचारिक कार्यक्रम सभापति भागरथी कुमार भगतको मन्तव्यसँगै सम्पन्न भएको थियो। त्यसपछि सांस्कृतिक कार्यक्रम अनौपचारिक रूपमा अघि बढाइएको थियो।

सांस्कृतिक कार्यक्रम नेफिन यूएईका सांस्कृतिक विभाग प्रमुख प्रदीप पुन मगर र प्रवक्ता काजल तामाङले संयुक्त रूपमा सञ्चालन गरेका थिए। नेफिनमा आबद्ध विभिन्न जातीय संस्थाका कलाकारहरूले परम्परागत पोशाकमा सजिएर आ–आफ्ना मौलिक सांस्कृतिक प्रस्तुति दिएका थिए। गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो।

योगदानकर्तालाई सम्मान

कार्यक्रमका अवसरमा नेफिन यूएईको स्थापना कालदेखि हालसम्म संस्थालाई योगदान पुर्‍याउँदै आएका सल्लाहकार समिति, कलाकार, प्रायोजक तथा सञ्चार तथा मिडिया पार्टनरहरूलाई मायाको चिनो, प्रमाणपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सो अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूएईलाई समेत मिडिया पार्टनरका रूपमा सम्मान गरिएको थियो।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, अतिथि, कलाकार, स्वयंसेवक, सञ्चारकर्मी, प्रायोजक तथा सहभागीहरूलाई आयोजक नेफिन यूएईले धन्यवाद व्यक्त गरेको छ।

३२औँ विश्व आदिवासी दिवसले यूएईमा रहेका नेपाली आदिवासी जनजातिहरूबीच एकता, सहकार्य तथा मौलिक पहिचान, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनको सन्देश दिएको आयोजकले जनाएको छ।

कमेन्टहरु