अनावश्यक ग्यासको सिलिण्डर भण्डारण नगर्न आग्रह, स्थानीय प्रशासनद्वारा वितरणमा सहजीकरण


गत एक सातामा प्रशासनको टोल फ्रि नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भरतपुर, पूर्वी चितवन तथा पश्चिम चितवन क्षेत्रमा ती ग्यास सिलिण्डर वितरण गरिएको छ । ग्यासको अभाव भएका आश्रमहरुमा समेत आश्रममा नै ग्यास पुर्याइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोली बजार अनुगमनमा लागेको हो । जिल्लामा मासिक एक लाख २० हजार सिलिण्डर आवश्यक पर्ने भए पनि अहिले दैनिक छदेखि सात हजार हाराहारी वितरण हुँदा असहज भएकाले बजार अनुगमन सुरु गरिएको अर्यालले बताए । अहिले जिल्लामा साईबाबा, बाबा र नेपाल ग्याँस उद्योग रहेका छन् । ती उद्योगबाट यहाँका डिलरमा नियमित ग्याँस पठाउँदै आइएको छ ।
बाबाग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार यहाँका उद्योगहरुले चितवनसहित विभिन्न जिल्लाहरुमा ग्यास पठाउँदै आएका छन् । भरिएकामध्ये आधा चितवनमा र आधा बाहिर पठाइएको उहाँले बताउनुभयो । बुलेटले ग्यास भर्दै आएको भारतको दुर्गापुरको रिफाइनरीमा समस्या आएपछि पारादीपबाट ग्यास भर्ने गरिएको छ ।
कालाखेतीका अनुसार दुर्गापुर दुई दिनमा पुगिन्छ भने पारादीप पुग्न चार दिन लाग्छ । त्यस्तै ग्याँस दिइरहेको बरौजी रिफाइनरीले समेत कम ग्याँस दिएको र माग बढेकाले समसया भएको हो ।





















