बिश्व

युक्रेनमा रुसकाे भीषण आक्रमण : निशानामा बन्दरगाह र ऊर्जा पूर्वाधार

एजेन्सी
२०८३ साउन २४ | मध्यान्ह ०५:०४ बजे

काठमाडौँ । रुसी सेनाले युक्रेनका विभिन्न क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। उत्तरपूर्वी खार्किभमा रुसी ड्रोनले एउटा आवासीय भवनमा प्रहार गर्दा २ जनाको मृत्यु र कम्तीमा २१ जना घाइते भएका छन्।

खार्किभका गभर्नर ओलेह सिनेहुबोभका अनुसार साल्टिभ्स्की जिल्लास्थित बहुमञ्जिला भवनमा भएको आक्रमणमा ५० र ६६ वर्षका दुई पुरुषको मृत्यु भएको हो। आक्रमणपछि भवनका चार तला क्षतिग्रस्त भएका छन्।

दक्षिणी खेरसोन क्षेत्रमा रुसी तोप आक्रमणमा ६१ वर्षीया महिलाको मृत्यु भएको छ। त्यस्तै, डिनिप्रोपेत्रोभ्स्क क्षेत्रको पाभ्लोहार्डमा भएको आक्रमणमा ४ बालबालिकासहित ९ जना घाइते भएका छन्।

राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ओडेसामा पनि रुसी सेनाले रातभर ब्यालिस्टिक, जहाज विरोधी र राडार विरोधी क्षेप्यास्त्र तथा २०० भन्दा बढी शाहेद ड्रोन प्रयोग गरी ठुलो आक्रमण गरेको बताएका छन् । आक्रमणमा आवासीय भवन र बन्दरगाहमा क्षति पुगेको तथा कम्तीमा ८ जना घाइते भएका छन्।

जेलेन्स्कीले ओडेसाको ऊर्जा पूर्वाधारलाई समेत निशाना बनाइएको र विद्युत् आपूर्ति पुनर्स्थापनाका लागि काम भइरहेको बताए । उनले ओडेसा बन्दरगाहमार्फत विश्वभर अन्न निर्यात हुने भएकाले यस्ता आक्रमणले विश्वव्यापी खाद्य सुरक्षामाथि असर पार्ने आरोप लगाए।

यसैबिच, रुसी समाचार संस्था तासका अनुसार युक्रेनी ड्रोन आक्रमणमा रुसको बेलगोरोद क्षेत्रमा तीन सर्वसाधारणको मृत्यु भएको छ । रुसले सुमी क्षेत्रमा रहेका दुई तेल प्रशोधन केन्द्रमा समेत आक्रमण गरेको रोयटर्सले जनाएको छ।

कमेन्टहरु