रौतहटमा ग्याँसको उपलब्धता बुझ्न आकस्मिक छड्के अनुगमन


रौतहट अशोक यादब 24। जिल्लामा खाना पकाउने ग्याँसको आपूर्ति तथा बिक्री वितरणको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय रौतहटको नेतृत्वमा विभिन्न ग्याँस उद्योग तथा डिलरहरूमा आकस्मिक छड्के अनुगमन गरिएको छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको नेतृत्वमा चन्द्रपुर, गौर र गरुडा क्षेत्रका विभिन्न ग्याँस उद्योग तथा डिलरहरूमा संयुक्त टोलीले अनुगमन गरेको हो।
अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक कुमार बुढाथोकी, प्रहरी निरीक्षक कैलाश कुमार के.सी., प्रहरी नायब निरीक्षक बलिराम प्रसाद साह तथा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभूषण साह लगायतको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा जिल्लामा ग्याँसको आपूर्ति तथा बिक्री वितरणको अवस्था सामान्य रहेको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। टोलीले ग्याँसको उपलब्धता, आपूर्ति तथा बिक्री वितरणको अवस्थाबारे जानकारी लिँदै उपभोक्ताले सहज रूपमा ग्याँस पाउने व्यवस्था सुनिश्चित गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गरेको थियो।
उपभोक्तालाई सहज रूपमा ग्याँस उपलब्ध गराउने तथा जिल्लाको आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन आगामी दिनमा समेत अनुगमनलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।






















