सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन


बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा देखिएको छ । बागलुङ बजारको रामरेखादेखि उपल्लाचौरसम्मको जम्मा दुई किमी सडक दुई वर्षमा पनि सकिएको छैन ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बाङ्गेचौरदेखि उपल्लाचौरसम्मको दुई किमी सडक सात महिनामा सक्नेगरी सम्झौता भएकामा दुई वर्ष बित्न लाग्दा पनि अझै सडक कालोपत्र भएको छैन । दुई किलोमिटर १०० मिटर सडक स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्नेगरी २०८१ फागुनमा २०८२ भदौ १५ गते सम्पन्न गर्नेगरी काम थालिए पनि ठेकेदारको ढिलासुस्तीले काम काम नसकिएको हो ।
सडक निर्माणको दुई वर्ष बित्नैलाग्दा समेत ८० प्रतिशत भौतिक प्रगति रहेको छ । “तत्कालका लागि १२ मिटर चौडाको दुई लेन सडकमा नाली निर्माण, टेवा पर्खाल लगाउने र कल्भर्ट बनाउने र सवबेस बनाउने काम सकिएको छ, निर्माण व्यवसायीले विभिन्न समस्या देखाउँदै काम गर्न ढिलाइ गरेकाले अब बेस र कालोपत्रको काममात्रै बाँकी छ”, इन्जिनियर लामिछानेले भने।
अस्फाल्ट कङ्क्रिटबाट सडक कालोपत्र गरिने तयारी छ । अस्फाल्टबाट सडक कालोपत्र गर्दा लामो समय टिकाउ हुने र बर्सेनि सडक मर्मत र खाडल पुर्नुपर्ने झन्झटबाट केही हदसम्म मुक्ति मिल्ने लामिछानेको भनाइ छ ।
निर्माण कम्पनीका प्रतिनिधि सुरेश श्रेष्ठले बिटुमिनको अभाव र पेट्रोलियम पदार्थको मृल्यवृद्विले कालोपत्रको काम गर्न नसकिएको बताए। सडक संरचनाको सबै काम सकिएकाले थपिएको समयमा पर्याप्त मजदुर र उपकरण प्रयोग गरेर कालोपत्रको काम सम्पन्न हुने श्रेष्ठले बताए । सडक मापदण्डमा परेका घरटहरा, जग्गा जमिन र विभिन्न संरचनाका कारण यहाँ लामो समयदेखि स्तरोन्नतिको काम रोकिएको थियो ।
लोकमार्ग विस्तार गर्दा घरघडेरी क्षति हुँदा उठिबास हुने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले सङ्घर्ष समिति नै बनाएर सर्वाेच्च अदालतमा मुद्दा दायर गरेपछि सडक विस्तार र कालोपत्रको काम हुनसकेको थिएन । सर्वाेच्चले बाङेचौरदेखि उपल्लाचौरको बुर्तिवाङ चोकसम्म १५ मिटर बाटो कायम गरिदिएपछि स्तरोन्नतिको काम अघि बढेको थियो । सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै खाल्डाखुल्डीले सवारीसाधन आवागमनमा असहज भइरहेको छ ।





















