अजरबैजान र आर्मेनियाबिच सम्बन्ध सामान्यीकरण प्रगतिबारे छलफल


काठमाडौँ । अजरबैजानी राष्ट्रपति इल्हाम अलीयेभ र आर्मेनियाली प्रधानमन्त्री निकोल पाशिन्यानले शनिबार टेलिफोन वार्ता गरी द्विपक्षीय सम्बन्ध सामान्यीकरणमा भएको प्रगतिबारे छलफल गरेको अजरबैजानी राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ ।
वार्ताका क्रममा दुवै पक्षले विगत एक वर्षमा दुई देशबिच सम्बन्ध सामान्यीकरणमा भएको प्रगतिलाई उल्लेख गरेका बताइएको छ ।
उनीहरूले व्यापारिक र आर्थिक सम्बन्ध बढ्दै गएको कुरामा पनि जोड दिँदै यो सम्बन्धलाई थप सामान्यीकरण गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरूबिच अजरबैजानबाट आर्मेनियामा पेट्रोलियम पदार्थको निर्यात तथा अजरबैजानी भूभाग हुँदै आर्मेनिया र अन्य गन्तव्यतर्फ हुने मालवाहक यातायातका विषयमा थप सहजीकरणको उपायबारे छलफल गरेका थिए ।
दुवै पक्षले सम्बन्ध सामान्यीकरणका प्रयास जारी राख्नुपर्ने र क्षेत्रीय स्थिरता, कनेक्टिभिटी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्नुपर्ने महत्त्वमा जोड दिएको विज्ञप्तिमा उल्लेख छ।
शनिबार वासिङ्टन डीसीमा सन् २०२५ ८ अगस्टमा भएको शान्ति सम्मेलनको पहिलो वार्षिकोत्सव हो । उक्त सम्मेलनले अजरबैजान र आर्मेनियाबिच शान्ति स्थापना गरेको थियो र दुवै पक्षबिच शान्ति सम्झौताको मस्यौदामा प्रारम्भिक हस्ताक्षर पनि भएको थियो ।





















