दुर्घटना

भारतबाट घर फर्किने क्रममा अटो दुर्घटना, सर्लाहीका अजय रामको मृत्यु

नवलपुर टुडे
२०८३ साउन २३ | बिहान ११:०४ बजे

सर्लाही, साउन २४ गते । भारतको पञ्जाबमा किसानी काम गरेर घर फर्किने क्रममा भएको अटो दुर्घटनामा सर्लाहीका एक नेपाली युवाको मृत्यु भएको छ भने अन्य यात्रुहरू घाइते भएका छन्।

सर्लाहीको धनकौल गाउँपालिका वडा नं ४ निवासी लगन राम भनिने ढुनमुन रामका ३२ वर्षीय छोरा अजय रामको भारतको बिहार राज्यस्थित ढाका क्षेत्रमा आज बिहान करिब ५ बजे भएको अटो दुर्घटनामा परी मृत्यु भएको हो।

भारतको पञ्जाबबाट घर फर्किने क्रममा अटो दुर्घटनामा परेको बताइएको छ। दुर्घटनामा अजय रामको मृत्यु भएको छ भने उमेश राम, नर्सिङ राम, प्रमोद राम, चुनचुन राम, दिलीप राम र नवीन माझीलगायत घाइते भएका छन्।

घाइतेहरूको भारतस्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ। मृतक अजय रामको शव पोस्टमार्टमका लागि सरकारी अस्पताल ढाका लगिएको जनाइएको छ।

घटनाबारे नेपाली कांग्रेसका नेता तथा समाजसेवी दिपेश राय यादवले जानकारी दिँदै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतक अजय रामको परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाको निष्पक्ष छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

यादव राजले घाइतेहरूको उपचारमा आवश्यक सहयोग उपलब्ध गराउन र मृतकको शव नेपाल ल्याउने प्रक्रियालाई सहज बनाउन समेत नेपाल सरकार तथा सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका छन्।

भारतमा रोजगारीका लागि गएका नेपालीहरू घर फर्किने क्रममा भएको यस दुःखद घटनाले धनकौल गाउँपालिका वडा नं ४ मा शोकको वातावरण सिर्जना भएको छ। मृतक परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन स्थानीयवासीले समेत सम्बन्धित निकायसँग माग गरेका छन्।

कमेन्टहरु