समाज

कपिलवस्तुमा भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका ८० वटा खसीबोका बरामद

नन्द किशोर कुर्मी (लालु)
२०८३ साउन २२ | मध्यान्ह ०४:०४ बजे

कपिलवस्तु, साउन २२।  कपिलवस्तुको सीमावर्ती क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइँदै गरिएका ८० वटा खसीबोका सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) जवाबैराठको गस्ती टोलीले सीमा क्षेत्रमा नियमित जाँच तथा अनुगमन गर्ने क्रममा अवैध रूपमा नेपाल भित्र्याइँदै गरिएका खसीबोका नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरीका अनुसार चोरीपैठारीमा संलग्न व्यक्तिहरूले सीमा क्षेत्रका गैरकानुनी मार्ग प्रयोग गरी भन्सार छलेर खसीबोका नेपाल ल्याउँदै गर्दा गस्ती टोलीलाई देखेपछि चौपाया छाडेर फरार भएका थिए।

बरामद गरिएका ८० वटा खसीबोकालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरिएको सशस्त्र प्रहरीले जनाएको छ। फरार भएका संलग्न व्यक्तिहरूको खोजी भइरहेको र सीमाक्षेत्रमा चोरीपैठारी नियन्त्रणका लागि निगरानी तथा गस्ती थप कडा बनाइएको प्रहरीले जनाएको छ।

कमेन्टहरु