प्रबास

पाकिस्तानले विदेशी सञ्चारमा माध्यममाथिको कडाइ थप कसिलो पार्‍यो

एजेन्सी
२०८३ साउन २२ | मध्यान्ह ०२:०४ बजे

इस्लामवाद । पाकिस्तानले देशभित्र सञ्चालित विदेशी सञ्चार माध्यमहरूको आउटलेटमाथि अरु प्रतिबन्ध लगाएको छ । योसँगै पहिलो पटक विदेशी सञ्चार माध्यमका लागि देशभित्र काम गर्ने नागरिकहरूमाथि समेत कडाइ गरिएको छ ।

आइतबार जारी गरिएको नयाँ प्रतिबन्धमा पाकिस्तानमा काम गरिरहेका विदेशी नागरिकलाई लक्षित गरिएको थियो । यसमा सरकारको अनुमति नलिईकन इस्लामवाद, लाहोर र कराँची बाहिर समाचार सङ्कलन गर्न वा यात्रा गर्न रोक लगाइएको थियो । बिहीबारदेखि भने विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पाकिस्तानी पत्रकार, फिक्सर र अन्य कर्मचारीहरूले समेत यसका लागि सरकारसँग अनुमति लिनुपर्ने भएको । साथै उनीहरूले सरकारसँग आफूलाई अनिवार्य रूपमा दर्ता पनि गराउनुपर्नेछ।

नयाँ प्रतिबन्धहरू किन लगाइयो भन्नेबारे पाकिस्तानी अधिकारीहरूले केही बताएका छैनन् । पाकिस्तान प्रशासित कश्मीरमा विरोध प्रदर्शन र देशको पश्चिमी प्रान्तहरूमा बढ्दो विद्रोहको बीचमा यो कदम चालिएको छ । ⁠निर्देशनहरूले देशमा सञ्चालन हुने सबै विदेशी मिडिया आउटलेटहरूलाई असर गर्छ ।

यस्ता प्रतिबन्धहरूले स्वतन्त्र पत्रकारितामा असर गर्ने र पत्रकारहरू स्वयम्–सेन्सरशिप गर्न बाध्य हुने चिन्ता ह्युमन राइट्स वाचले गरेको छ । यस्ता नियन्त्रण पाकिस्तानको साँघुरो प्रेस स्वतन्त्रतामा चिन्ताजनक कदम भएको भन्दै ह्युमन राइट्स वाचकी प्याट्रिसिया गोसम्यानले यसलाई तुरुन्तै फिर्ता लिन आग्रह गरेकी छिन् ।

पाकिस्तानको सूचना मन्त्रालय र यसको सेनाले यस विषयमा आफूले राखेको जिज्ञाशामा कुनै जवाफ नदिएको रोयटर्सले एउटा समाचारमा भनेको छ । नयाँ मिडिया प्रतिबन्धहरू सरकार वा वैध अनुसन्धान पत्रकारिताको आलोचना रोक्नको लागि नभएको नाम न छाप्ने सर्तमा एक सरकारी अधिकारीले भनेका छन् ।

यस खबरप्रति पाकिस्तानमा सञ्चालित विदेशी सञ्चारमाध्यमका आउटलेटहरूले असन्तुष्टि व्यक्ति गरेका छन् । यसैबिच, पाकिस्तान सरकारले रिपोर्टिङ अनुमति नभएका केही विदेशी सञ्चारमाध्यमलाई पाकिस्तान प्रशासित कश्मीरबाट तुरुन्त बाहिरिन निर्देशन पनि दिएको छ ।

कमेन्टहरु