बिश्व

अमेरिकाले भिसाको लागि आवेदन दिने विदेशी पत्रकारको सामाजिक सञ्जाल खाता छानबिन गर्ने

एजेन्सी
२०८३ साउन २२ | मध्यान्ह ०२:०४ बजे

वाशिङटन डीसी । अमेरिकामा काम गर्न भिसा आवेदन दिने विदेशी पत्रकारहरूको सामाजिक सञ्जाल खाता विदेश मन्त्रालयले अनिवार्य चेकजाँच गर्ने भएको छ । द डेली सिग्नलका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि धेरै प्रकारका भिसा आवेदकका लागि लागू गरेको सामाजिक सञ्जाल खाता सार्वजनिक गरेर जाँच गराउने नीति अब विदेशी सञ्चारकर्मीहरूमा पनि विस्तार गर्ने निर्णय गरेको हो ।

यस नीतिअनुसार अमेरिकी अधिकारीहरूले समीक्षा गर्न सकुन् भनेर आवेदकहरूले आफ्ना सामाजिक सञ्जाल खाताहरू सार्वजनिक राख्नुपर्नेछ । क्यानडा र मेक्सिकोका केही कामदारका लागि प्रयोग हुने अर्को प्रकारको भिसाका आवेदकहरूलाई पनि अब यही जाँच प्रक्रियामा समावेश गरिने समाचारमा भनिएको छ ।

ह्वाइट हाउस र अमेरिकी विदेश मन्त्रालयका आधिकारिक एक्स खाताले उक्त समाचारको लिंक शेयर गरेका थिए । तर विदेश मन्त्रालयले यो रिपोर्टका सबै विवरण पुष्टि गर्न अस्वीकार गर्दै आन्तरिक कागजातबारे टिप्पणी नगर्ने नीति रहेको जनाएको छ ।

अमेरिकी कानुनअनुसार भिसा प्राप्त गर्न आवेदक योग्य छन् वा छैनन् भन्ने सुनिश्चित गर्न अनलाइन उपस्थितिको जाँच गरिने विदेश मन्त्रालयका एक प्रवक्ताले बताए । अमेरिकामा प्रवेश गर्न चाहने प्रत्येक विदेशी नागरिकलाई सम्भव भएसम्म कडा रूपमा जाँच गरिने र उनीहरूले अमेरिकी कानुनको सम्मान गर्ने तथा राष्ट्रिय सुरक्षा, सार्वजनिक सुरक्षा वा राष्ट्रिय हितमा कुनै खतरा नपुर्‍याउने सुनिश्चित गरिने उनले बताए । प्रवक्ताका अनुसार भिसा अधिकारीहरूले राष्ट्रिय सुरक्षा संरक्षण, ठगी रोकथाम तथा आवेदकको विस्तृत मूल्याङ्कन गर्न विभिन्न विधि प्रयोग गर्छन् ।

यो नयाँ व्यवस्था कहिलेदेखि लागू हुनेछ भन्नेबारे भने स्पष्ट जानकारी दिइएको छैन । गत महिना अमेरिकी गृह सुरक्षा विभागले अमेरिकामा कार्यरत विदेशी पत्रकार, विदेशी विद्यार्थी तथा अन्य केही भिसा धारकहरूले अमेरिकामा बस्न पाउने अवधिसम्बन्धी नियमहरू पनि कडा बनाएको थियो । यो नीति राष्ट्रपति ट्रम्पले जनवरी २०२५ मा दोस्रो कार्यकाल सुरु गरेपछि लागू गरिएका आप्रवासनसम्बन्धी कडा नीतिहरूको निरन्तरताका रूपमा हेरिएको छ ।

कमेन्टहरु