गरूडा–समनपुर सडक अवरुद्ध : चान्दीखोलाको बाढीले पाइप बगायो, स्थानीयको सास्ती


रौतहट । गरूडादेखि समनपुर जोड्ने मुख्य सडकअन्तर्गत चान्दीखोलामा आएको बाढीले सडकमा जडान गरिएका पाइप बगाउँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसका कारण सवारीसाधन तथा पैदल यात्रुहरूलाई आवतजावत गर्न निकै कठिनाइ भइरहेको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार निरन्तर वर्षासँगै चान्दीखोलामा आएको तीव्र बहावले सडकमा राखिएका पाइप बगाएर नजिकैको खेतमा पुर्याएको छ। पाइप बगेसँगै सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ र केही दिनदेखि यातायात प्रभावित हुँदै आएको छ।
स्थानीयवासीले क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेल तथा गरूडा नगरपालिकाका नगरप्रमुख कन्थमणि जयसवालको यस समस्याप्रति पर्याप्त ध्यान नपुगेको गुनासो गरेका छन्। उनीहरूका अनुसार जनप्रतिनिधिहरू यही सडक हुँदै विभिन्न गाउँमा नियमित रूपमा आवतजावत गर्ने भए पनि सडकको दीर्घकालीन समाधानतर्फ आवश्यक पहल हुन सकेको छैन।
स्थानीयका अनुसार यस स्थानमा स्थायी पुल निर्माणका लागि केन्द्र, प्रदेश र स्थानीय तहबाट विभिन्न समयमा लाखौं रुपैयाँ बजेट विनियोजन भए पनि हालसम्म पुल निर्माण सम्पन्न हुन सकेको छैन। वर्षा लाग्नेबित्तिकै सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको उनीहरूको भनाइ छ।
गरूडा–समनपुर सडक रौतहट तथा सर्लाही जिल्लालाई बागमती नदी क्षेत्रसँग जोड्ने महत्वपूर्ण मार्गका रूपमा परिचित छ। विकास निर्माणका सामग्री बोकेका सयौं टिपर दैनिक रूपमा यही सडक प्रयोग गर्ने भए पनि सडकको संरक्षण र मर्मतमा निर्माण व्यवसायीको समेत पर्याप्त चासो नदेखिएको स्थानीयको आरोप छ।
यही सडक हुँदै मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव, अर्थमन्त्री समीर भट्टराई तथा पूर्वमन्त्री फूलबाबु सिंहलगायत उच्च पदस्थ व्यक्तिहरूको समेत नियमित आवतजावत हुने गरेको स्थानीयले बताएका छन्। सडकको दयनीय अवस्थाप्रति सम्बन्धित निकायले तत्काल ध्यान दिई स्थायी पुल निर्माण र सडक मर्मतको काम अघि बढाउन स्थानीयले माग गरेका छन्।






















