आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले


काठमाडौँ, साउन २०। अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग आज अर्थ मन्त्रालयमा भएको छलफलमा राष्ट्र बैंकले नियामक निकायको भूमिकासँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारको भूमिका निर्वाह गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
अर्थमन्त्री वाग्लेले सरकारले घोषणा गरेका आर्थिक सुधारलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत पहलका विषयमा सुझाव दिन कार्यकारी निर्देशकहरूलाई आग्रह गर्नुभयो ।
उहाँले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह कसरी बढाउन सकिन्छ भन्ने विषयमा विशेष चासो व्यक्त गर्नुभयो । “बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई उत्पादन, उद्योग र रोजगारीमा कसरी रूपान्तरण गर्न सकिन्छ रु पूँजी बजार, रियल इस्टेट, बैंकिङ प्रणाली र वास्तविक अर्थतन्त्रबीच स्वस्थ सम्बन्ध कसरी निर्माण गर्न सकिन्छ रु” उहाँले भन्नुभयो, “मौद्रिक नीति र वित्तीय नीतिबीचको समन्वयलाई अझ प्रभावकारी कसरी बनाउने रु डिजिटल वित्त, फिनटेक, वैकल्पिक वित्त, स्टार्टअप वित्तपोषण र नयाँ वित्तीय उपकरणलाई कसरी सहज बनाउने भन्ने विषयमा पनि जानकारी गराउनुहोला ।”
अर्थमन्त्री वाग्लेले नियमनको उद्देश्य केवल नियन्त्रण गर्नु नभई उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको नियामक प्रणालीले नवप्रवर्तनलाई रोकिरहेको छ वा प्रोत्साहन गरिरहेको छ भन्ने प्रश्नको उत्तर आफैँसँग खोज्नुपर्ने बेला आएको बताउनुभयो ।
“हामी ‘यो सम्भव छैन’ भन्ने सोचबाट होइन, ‘यसलाई सम्भव बनाउन के गर्नुपर्छ’ भन्ने सोचबाट छलफल गरौँ,” उहाँले भन्नुभयो, “ मुलुकलाई सबैभन्दा बढी आवश्यक परेको कुरा नीतिगत आत्मविश्वास हो ।”
अर्थमन्त्री वाग्लेले सरकार र नेपाल राष्ट्र बैंक आत्मविश्वासी भए बैंकिङ प्रणाली र निजी क्षेत्र पनि आत्मविश्वासी बन्ने तथा त्यसले आर्थिक वृद्धि हासिल गर्न सहज हुने बताउनुभयो ।
“सरकारका तर्फबाट हामीले आफ्नो जिम्मेवारी स्पष्ट रूपमा लिएका छौँ । सुधारको प्रक्रिया सुरु भइसकेको छ । आवश्यक कानुनी संशोधन, संस्थागत सुधार र कार्यान्वयनलाई तीव्रता दिइरहेका छौँ,” उहाँले भन्नुभयो, “अब मौद्रिक पक्षबाट पनि त्यही गति, त्यही स्पष्टता र त्यही प्रतिबद्धता आवश्यक छ ।”






















