यमनको तट नजिक भारतीय झन्डावाहक जहाजमाथि आक्रमण


सना । यमनको तट नजिक प्रक्षेप्य (प्रोजेक्टाइल) आक्रमणमा परेको भारतीय झन्डावाहक जहाज एमएसभी फैजे नूरे ओलिया समुद्रमा डुबेको छ । जहाजमा सवार सबै १४ जनाको सकुशल उद्धार गरिएको भारतीय अधिकारीहरूले बताएका छन् ।
भारतका जहाज यातायात मन्त्री सरबानन्द सोनोवालका अनुसार जहाजमा रहेका १४ जनामध्ये १३ जना भारतीय नागरिक थिए । उक्साहटबिनाको आक्रमण भन्दै उनले यस घटनाको कडा शब्दमा निन्दा गरेका छन् । साथै, उक्त क्षेत्रमा कार्यरत समुद्री यात्रुहरूको सुरक्षाका लागि आवश्यक कदम चालिने बताएका छन् ।
भारतको विदेश मन्त्रालयले पनि घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस क्षेत्रमा व्यापारिक जहाजमाथि भइरहेका आक्रमण तुरुन्त बन्द हुनुपर्ने जनाएको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्री मार्गमा सुरक्षित, स्वतन्त्र र अवरोधरहित आवागमन तथा व्यापार पुनःस्थापित गर्न आग्रह गरेको छ ।
फेब्रुअरी महिनादेखि अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि पश्चिम एशियाको समुद्री सुरक्षा अवस्था थप जटिल बनेको छ । त्यसपछि इरानले विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्ये एक स्टे«ट अफ होर्मुज बन्द गरेपछि विश्वव्यापी तेल आपूर्ति र मूल्यमा असर परेको थियो ।
स्टेट अफ होर्मुज बन्द भएपछि केही तेल ट्याङ्करहरूले वैकल्पिक मार्गका रूपमा लाल सागर प्रयोग गर्न थालेका थिए । तर हालका दिनमा यमनका हुथी विद्रोहीहरूले लाल सागर क्षेत्रमा जहाजमाथि लगातार आक्रमण गर्न थालेपछि त्यहाँको सुरक्षा जोखिम अझ बढेको छ ।






















