बिश्व

उत्तर कोरियालाई जोड्ने रोकिएको रेलमार्ग निर्माण परियोजना पुनः सुरु गर्दै दक्षिण कोरिया

एजेन्सी
२०८३ साउन २० | मध्यान्ह १२:०४ बजे

सियोल । दक्षिण कोरियाले उत्तर कोरियाको पूर्वी सहर वन्सानसम्म जोडिन सक्ने रेलमार्गको एउटा खण्डमा पुनः काम सुरु गर्ने भएको छ । दुई देशबिचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहेका कारण करिब एक दशकदेखि रोकिएको यस परियोजनालाई फेरि अघि बढाउन लागिएको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले बुधबार जनाएको छ ।

एकीकरणमन्त्री चुङ दोङ–योङले राष्ट्रपतिको कार्यालयमा भएको बैठकमा उत्तर कोरियासँगको सीमास्थित गैरसैनिकीकृत क्षेत्र (डीएमजेड) नजिक रहेको ग्योङवन रेलमार्गको खण्डित भागको पुनर्निर्माण सुरु गर्ने जानकारी दिएका छन् । यो परियोजना सन् २०१५ मा सुरु गरिएको थियो तर सीमापार सम्बन्ध बिग्रिएपछि सन् २०१६ मा रोकिएको थियो ।

मन्त्रालयका अनुसार सियोलबाट सुरु हुने उक्त रेलमार्ग भविष्यमा उत्तर कोरियाको पूर्वी तटमा रहेको प्रमुख सहर वन्सानसँग जोडिन सक्नेछ ।

उत्तर कोरियाले वन्सान–काल्मा तटीय पर्यटकीय क्षेत्रको विकासमा ठूलो लगानी गरेको छ । विशाल समुद्री तटमा फैलिएको उक्त पर्यटकीय क्षेत्र गत वर्ष सञ्चालनमा आएको थियो र त्यहाँ एकपटकमा करिब २० हजार पर्यटकलाई सेवा दिन सक्ने क्षमता रहेको बताइएको छ । उत्तर कोरियाली नेता किम जोङ–उनले यसलाई देशको पर्यटन उद्योग विस्तार गर्ने नमुनाका रूपमा प्रस्तुत गर्ने गरेका छन् ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयको घोषणा उत्तर कोरियाले सन् २०२४ मा दुई देशबिचका सडक तथा रेल सञ्जालहरू विस्फोट गराएर ध्वस्त पारेको घटनापछि आएको हो । उत्तर कोरियाले दक्षिण कोरियालाई ‘शत्रुतापूर्ण राज्य’ का रूपमा पुनःपरिभाषित गर्ने अभियानअन्तर्गत ती सञ्जालहरू नष्ट गरेको थियो ।

मन्त्रालयका अनुसार रेल परियोजनाले गैरसैनिकीकृत क्षेत्रमा रहेका शान्ति तथा पर्यावरणीय पर्यटनस्थलमा पहुँच सुधार गर्नुका साथै सीमावर्ती क्षेत्रमा आर्थिक गतिविधि बढाउन सहयोग गर्नेछ ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले उत्तर कोरियाले आफ्नो संवाद तथा सम्बन्ध सुधारका आह्वानहरू पटक–पटक अस्वीकार गरिरहेको अवस्थामा उससँग सम्बन्ध सुधार गर्ने प्रयास चुनौतीपूर्ण रहेको स्वीकार गरेका छन् । ‘यो काम प्रतिध्वनि नआउने खाली ठाउँमा चिच्याएजस्तो लाग्न सक्छ,’ लीले बैठकमा भने, ‘तर शान्ति र सहअस्तित्व महत्त्वपूर्ण जिम्मेवारी हुन् । जति कठिन भए पनि हामीले यो नीतिलाई निरन्तर अघि बढाउनुपर्छ ।’

मन्त्रालयले उत्तर कोरियासँगको सम्बन्ध आदानप्रदान तथा मानवीय परियोजनालाई सहयोग गर्न स्थापना गरिएको अन्तरकोरियाली सहयोग कोष को उपयोग घरेलु क्षेत्रमा पनि व्यापक बनाउने प्रस्ताव गरेको छ ।

उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र परीक्षण गरेपछि सन् २०१६ देखि अधिकांश सीमापार कार्यक्रम स्थगित छन् । मन्त्री चुङका अनुसार पछिल्लो एक दशकमा उक्त कोषको वार्षिक रूपमा करिब २ देखि ३ प्रतिशत मात्र रकम खर्च भएको छ ।

राष्ट्रपति लीले कोषमा रकम जम्मा हुँदै गएको तर खर्च गर्ने अवसर निकै कम रहेको उल्लेख गर्दै यसको उपयोग विस्तार गर्ने प्रस्ताव उचित रहेको बताएका छन् ।

उनले भने, ‘त्यसैले कार्यान्वयनसम्बन्धी आदेश संशोधन गरेर यसको उपयोगको दायरा फराकिलो बनाउने सोच हो । यो उचित देखिन्छ ।’

मन्त्री चुङका अनुसार मन्त्रालयले कोषलाई सीमावर्ती क्षेत्रका परियोजना, शान्ति अर्थतन्त्रसम्बन्धी पहल, पुनःएकीकरणसम्बन्धी गतिविधि तथा उत्तर कोरियासम्बन्धी अध्ययनमा समेत प्रयोग गर्न मिल्ने गरी कानुनी तथा नियामकीय परिवर्तन गर्ने प्रयास गर्नेछ ।

कमेन्टहरु