अमेरिकासँग कुनै वार्ता नभइरहेको इरानको स्पष्टीकरण


तेहरान । इरानले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता भइरहेको वा निकट भविष्यमा कुनै बैठक तय नभएको स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि दुवै देशबीच वार्ता सुरु हुने दाबी गरेको केही घण्टापछि इरानी विदेश मन्त्रालयले यस्तो प्रतिक्रिया दिएको हो।
राष्ट्रपति ट्रम्पले आइतबार अमेरिकी राष्ट्रपति विमान ‘एयर फोर्स वन’मा पत्रकारहरूसँग कुरा गर्दै इरानमाथि योजना बनाइएको ठूलो सैन्य आक्रमण अन्तिम समयमा स्थगित गरिएको बताएका थिए। उनले आफू युद्धभन्दा सम्झौतालाई प्राथमिकता दिने भन्दै इरानसँग वार्तामार्फत समाधान खोज्न चाहेको बताएका थिए।
तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले ट्रम्पको दाबीलाई अस्वीकार गर्दै अमेरिकासँग कुनै वार्ता नभइरहेको र कुनै बैठक पनि तय नगरिएको स्पष्ट पारे। इरानले निकट भविष्यमा कुनै विदेशी प्रतिनिधिमण्डललाई स्वागत गर्ने वा आफ्ना वार्ताकारलाई विदेश पठाउने योजना पनि नरहेको उनले बताए।
बाघेईका अनुसार इरानका सबै वार्ताकार अहिले देशभित्रै छन्। विदेशमन्त्री अब्बास अराघची भने धार्मिक तीर्थयात्राका लागि इराकमा रहेका छन्। हाल भइरहेको एकमात्र औपचारिक वार्ता ओमानसँग स्ट्रेट अफ होर्मुजमा जहाजहरूको सुरक्षित आवागमनका लागि अस्थायी समुद्री मार्ग निर्माणसम्बन्धी रहेको उनले बताए।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गरेका एक वरिष्ठ इरानी अधिकारीले पनि अमेरिकासँग कुनै वार्ताको तयारी नभएको पुष्टि गरेका छन्। उनका अनुसार विदेशमन्त्री अराघची कम्तीमा यस साताको अन्त्यसम्म कुनै कूटनीतिक वार्तामा सहभागी हुने अवस्थामा छैनन्।
पाँच महिनादेखि दोहोरिँदै आएको ट्रम्पको रणनीति
विश्लेषकहरूका अनुसार ट्रम्पले पछिल्ला पाँच महिनायता इरानविरुद्ध कडा सैन्य कारबाहीको चेतावनी दिने र अन्तिम समयमा कूटनीतिक प्रयासलाई कारण देखाउँदै त्यसलाई स्थगित गर्ने रणनीति अपनाउँदै आएका छन्।
इरान–इजरायल द्वन्द्व सुरु भएपछि ट्रम्पले इजरायलसँग मिलेर ‘अपरेसन एपिक फ्युरी’ सञ्चालन गरेका थिए। त्यसयता उनले धेरै पटक इरानमाथि ठूलो आक्रमण गर्ने घोषणा गरे पनि अन्तिम समयमा त्यसलाई रोक्दै आएका छन्।
यता, इरानले भने गत जुन महिनामा भएको प्रारम्भिक समझदारी जुलाईको सुरुमै विफल भएपछि अमेरिकासँग प्रत्यक्ष वार्ता नगर्ने अडान दोहोर्याउँदै आएको छ।
युद्ध सुरु हुँदा ट्रम्प प्रशासनले इरानको आणविक कार्यक्रम अन्त्य गर्ने, क्षेत्रीय प्रतिद्वन्द्वीहरूमाथि आक्रमण गर्ने क्षमता कमजोर बनाउने तथा इरानभित्रको धार्मिक शासन परिवर्तनका लागि वातावरण तयार गर्ने लक्ष्य लिएको थियो। तर पाँच महिनापछि पनि तीमध्ये कुनै पनि मुख्य उद्देश्य पूर्ण रूपमा हासिल हुन नसकेको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाइ छ।
यस अवधिमा अमेरिकाले सैन्य दबाब बढाउँदा इरानले पनि अमेरिकी सैन्य अड्डा, खाडी क्षेत्रका अमेरिकी साझेदार मुलुक तथा अन्तर्राष्ट्रिय जहाजहरूलाई लक्षित गर्दै प्रतिकारात्मक कदम चाल्दै आएको छ। अन्ततः हरेक पटक तनाव चर्किएपछि ट्रम्प प्रशासनले सैन्य कारबाही रोक्दै आएको देखिन्छ।
दुवै देशबीचको सबैभन्दा ठूलो विवाद अहिले पनि स्ट्रेट अफ होर्मुज नै हो। विश्व बजारमा खपत हुने ठूलो हिस्सा तेल यही जलमार्गबाट ओसारपसार हुने भएकाले यसको सुरक्षा विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।
अमेरिकाको दाबीअनुसार जुन महिनाको समझदारीमा इरानले हर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय जहाजका लागि खुला राख्ने सहमति जनाएको थियो। तर इरानले उक्त दस्तावेजले आफ्नो समुद्री अधिकार सुरक्षित राखेको र जलमार्गको व्यवस्थापनमा आफ्नो अधिकार यथावत् रहने स्पष्ट उल्लेख गरेको दाबी गरेको छ। विश्लेषकहरूका अनुसार इरानले हर्मुजमाथि आफ्नो प्रभाव कायम राख्न सफल भए त्यसलाई ट्रम्प प्रशासनका लागि ठूलो कूटनीतिक असफलताका रूपमा हेरिनेछ।
तेलको मूल्यमा गिरावट
यसैबीच, ट्रम्पले इरानमाथि सैन्य आक्रमण नगर्ने निर्णय गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ४ प्रतिशतभन्दा बढी घटेर प्रतिब्यारेल करिब ८४ अमेरिकी डलरमा झरेको छ।
यद्यपि, स्ट्रेट अफ होर्मुजमा तनाव भने पूर्ण रूपमा कम भएको छैन। बेलायती समुद्री सुरक्षा संस्था यूकेएमटीओका अनुसार आइतबार राति एक जहाजका कप्तानले आफ्नो जहाजनजिकै समुद्रमा विस्फोट भएको जानकारी दिएका थिए। तर उक्त घटनामा कुनै मानवीय क्षति भएको जानकारी आएको छैन।





















