स्ट्रेट अफ होर्मुजमा अस्थायी सुरक्षित मार्ग बनाउन इरान–ओमानबिच वार्ता

एजेन्सी
२०८३ साउन १८ | मध्यान्ह ०५:०४ बजे

तेहरान । इरानले स्ट्रेट अफ होर्मुज हुँदै जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न ओमानसँग अस्थायी समुद्री मार्ग निर्माणबारे वार्ता गरिरहेको जनाएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमबार दिएको जानकारीअनुसार दुवै देशबीच सकेसम्म छिटो परामर्श गरेर जहाजहरूको सुरक्षित आवागमनका लागि अस्थायी मार्ग तय गर्ने प्रयास भइरहेको छ ।
यसको मुख्य उद्देश्य हर्मुज जलडमरूमध्यबाट हुने अन्तर्राष्ट्रिय जहाज आवागमनलाई सुरक्षित बनाउनु हो । इरान अमेरिकासँग कुनै वार्तामा नरहेको पनि बाघेईले स्पष्ट पारे ।
तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सोमबार इरानसँग वार्ता पुनः सुरु हुने बताएका छन् । ट्रम्पले एक दिनअघि मात्रै इरानमाथि गर्न लागिएको ठूलो सैन्य आक्रमण अन्तिम समयमा रोकिएको दाबी गरेका थिए ।





















