प्रबास

ग्रीसमा डढेलो निभाउने क्रममा दुई हेलिकप्टर ठोक्किँदा दुई जनाको मृत्यु

एजेन्सी
२०८३ साउन १८ | मध्यान्ह १२:०४ बजे

एथेन्स। ग्रीसमा डढेलो नियन्त्रण गर्ने क्रममा दुईवटा अग्निनियन्त्रण हेलिकप्टर आकाशमै आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा डेनमार्कका एक पाइलट र ग्रीसका अग्नि सेवा समन्वय अधिकारीको ज्यान गएको हो। अर्को हेलिकप्टरमा रहेका एक बेलायती पाइलट र एक ग्रीक समन्वय अधिकारी भने सामान्य घाइते भई सकुशल बाँच्न सफल भएका छन्।

राजधानी एथेन्सबाट करिब ६५ किलोमिटर पश्चिममा पर्ने अटिका–बोयोटिया सीमामा लागेको ठूलो डढेलो निभाउने क्रममा आइतबार उक्त दुर्घटना भएको हो। अस्ट्रेलियाको म्याकडर्मोट एभिएसन कम्पनीबाट भाडामा लिइएका दुईवटा बेल हेलिकप्टर आपसमा ठोक्किएका थिए।

दुर्घटनाको भिडियोमा एउटा बेल हेलिकप्टर अर्को हेलिकप्टरको रोटरमा ठोक्किएको देखिन्छ। त्यसपछि एउटा हेलिकप्टरमा आगलागी भई खोंचमा खसेको थियो भने अर्को हेलिकप्टरले आपतकालीन अवतरण गरेको थियो।

जीवित बचेका दुई जनाले तुरुन्तै दुर्घटनाबारे जानकारी दिएका कारण उद्धार टोलीलाई दुर्घटनास्थल पत्ता लगाउन सहज भएको थियो। एउटा हेलिकप्टरका चालकदलका सदस्यहरूलाई जीवित उद्धार गरियो भने अर्कामा रहेका दुई सदस्यलाई अचेत अवस्थामा फेला पारी पछि मृत घोषणा गरियो।

सामान्य घाइते भएका बेलायती पाइलट र ग्रीक समन्वय अधिकारीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। उनीहरू सचेत अवस्थामा रहेका र सावधानीका रूपमा २४ घण्टा चिकित्सकीय निगरानीमा राखिएको छ।

ग्रीसमा यस सातादेखि भीषण डढेलो फैलिएको छ। जसका कारण हजारौँ मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। लामो समयदेखि जारी अत्यधिक गर्मीका कारण युरोपका अन्य देशहरूमा पनि विनाशकारी डढेलो फैलिएको छ।

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्। दुर्घटनापछि सुरक्षाका लागि देशभर सञ्चालनमा रहेका सबै बेल हेलिकप्टरहरूलाई अस्थायी रूपमा ग्राउन्ड गरिएको छ।

कमेन्टहरु