सुस्तामा भारतीय एसएसबीले निर्माणाधीन अस्थायी बाँध भत्काइपछि सुस्ता क्षेत्रमा तनाव


नवलपरासी । नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको छ। घटनापछि स्थानीयवासी र भारतीय सुरक्षाकर्मीबीच विवाद भएको छ भने सीमा क्षेत्रमा तनाव बढेको छ। स्थानीयका अनुसार आइतबार दिउँसो करिब साढे ३ बजे सादा पोसाक र हतियारसहित करिब ६० जना भारतीय एसएसबी सुस्ता गाउँपालिका-५ स्थित थारु टोल क्षेत्रमा नेपाली भूमिमा प्रवेश गरेका थिए।
उनीहरूले त्यहाँ निर्माण भइरहेको १३२ मिटर लामो माटोको अस्थायी बाँध भत्काइदिएको स्थानीयको भनाइ छ। सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमका अनुसार भारतीय सुरक्षाकर्मी दुई देशको सीमा मानिएको सिमलको रुखबाट करिब ३०० मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएका हुन्।
स्थानीयले त्यसको विरोध गर्दै रोक्ने प्रयास गरे पनि सुरक्षाकर्मी हतियारसहित आएकाले रोक्न नसकिएको उनले बताए। यसअघि पनि गत असार महिनामा भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माणको काम रोक्न दबाब दिएको स्थानीयको भनाइ छ। स्थानीय मुन्ना खाँका अनुसार सीमा स्तम्भको अभाव, नारायणी नदीले समय-समयमा धार परिवर्तन गर्नु तथा भारतीय पक्षबाट हुने पटक-पटकको हस्तक्षेपका कारण सुस्ता क्षेत्रमा सीमा विवाद दोहोरिँदै आएको छ।
भारतीय पक्षले निर्माणाधीन बाँध भत्काएको घटनापछि अप्रिय अवस्था सिर्जना हुन नदिन नेपालको सशस्त्र प्रहरी बल घटनास्थलमा परिचालन गरिएको छ।





















