ट्रम्पले इरानमाथिको आक्रमण राेकेपछि के भन्छन् इरानी सञ्चारमाध्यम ?


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य आक्रमण तत्कालका लागि रोक्ने घोषणा गरेपछि इरानका सरकारी तथा अर्धसरकारी सञ्चारमाध्यमहरूले ट्रम्पमाथि व्यङ्ग्य गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत इरान र अन्य पश्चिम एसियाली देशहरूले थप आक्रमण रोक्न आग्रह गरेको तथा स्ट्रेट अफ हर्मुज तत्काल पूर्ण रूपमा खुला गर्ने विषयमा सम्झौताको रूपरेखा बनेको दाबी गरेका थिए।
तर इरानका सरकारी सञ्चारमाध्यमहरूले ट्रम्पको दाबी अस्वीकार गर्दै इरानले यस्तो कुनै अनुरोध नगरेको बताएका छन्। साथै, स्ट्रेट अफ हर्मुजमा जहाज आवतजावतको व्यवस्थापनमा इरानको भूमिका कायम रहने आफ्नो अडान पनि दोहोर्याएका छन्।
अर्धसरकारी समाचार संस्था फार्सले ट्रम्पमाथि कटाक्ष गर्दै लेखेको छ, ‘मूर्ख ट्रम्पको जोश सकियो !’ । तेहरानका राजनीतिक टिप्पणीकार मोर्तेजा सेमिआरीलाई उद्धृत गर्दै फार्सले फारसी उखान प्रयोग गर्दै लेख्यो, ‘अमेरिकाको ठुलो पहाडले अन्ततः एउटा मुसा मात्र जन्मायो,’ । यसको अर्थ ठुलो धम्कीपछि अत्यन्त सानो परिणाम आएको भन्ने हो ।
दिवङ्गत सर्वोच्च नेता अयातोल्लाह अली खामेनी निकट मानिने कयहान अनलाइनले पनि ट्रम्पले एक सातासम्म धम्की दिएपछि फेरि आफ्नो अडानबाट पछि हटेको टिप्पणी गरेको छ। अर्को अर्धसरकारी समाचार संस्था मेहरले ट्रम्पले आफ्ना खोक्रा धम्कीबाट पछि हटेर त्यसलाई संसारसामु आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेको आरोप लगाएको छ।
इरानी सेनाले भने कुनै पनि सम्भावित परिस्थितिको सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको मेहरले जनाएको छ। यसैबिच केही इरानी सञ्चारमाध्यमहरूले अमेरिकी वायु रक्षा प्रणालीका मिसाइलहरूको मौज्दात घटिरहेको भन्ने पश्चिमी सञ्चारमाध्यमहरूको समाचारलाई उद्धृत गर्दै, यही कारणले ट्रम्पले इरानमाथिको थप आक्रमण रोक्ने निर्णय गरेको दाबी गरेका छन्।





















