प्रबास

स्पेनको आप्रवासी सङ्कट : सामाजिक सञ्जालबाट उक्साइएको एउटा आँधी

एजेन्सी
२०८३ साउन १७ | मध्यान्ह ०१:०४ बजे

स्पेन । बिहीबार स्पेनको अधीनमा रहेको उत्तर अफ्रिकी भूभाग सेउतामा समुद्रमा पौडिएर प्रवेश गरेका दसौँ हजार आप्रवासीमध्ये अधिकांश अहिले मोरक्को फर्किसकेका छन् । स्पेनी सेना र प्रहरीले उनीहरूलाई सीमासम्म पुर्‍याएर मोरक्कोतर्फ फर्काएका हुन् ।

तर आप्रवासी आगमनको यो असाधारण लहरले कम्तीमा ६७ जनाको ज्यान लिएको छ । समुद्रबाट उद्धार गरिएका शवहरू त्यहाँ फालिएका रबरका ट्युब र पौडी खेल्दा प्रयोग गरिने उपकरणहरूसँगै भेटिएका थिए ।

यस साताको यस घटनाले युरोपको राजनीतिलाई पनि हल्लाइदिएको छ । यसले आप्रवासनजस्तो संवेदनशील मुद्दामा युरोपभित्र रहेको विभाजनलाई फेरि उजागर गरेको छ ।

त्यससँगै अचानक यति ठुलो सङ्ख्यामा आप्रवासी सेउता किन पुगे भन्ने प्रश्न पनि अनुत्तरित छ । के ‘युरोप पुग्न सहज बाटो रहेको’ भन्दै सामाजिक सञ्जालमा फैलाइएका पोस्टहरू अचानक भाइरल भएकामात्र हुन् ? वा यो अझ बढी योजनाबद्ध र संगठित गतिविधि थियो ?

घटनाको युरोपियन राजनीतीकरण

कारण जे भए पनि स्पेनका समाजवादी प्रधानमन्त्री पेद्रो सान्चेजले सङ्कटप्रतिको प्रतिक्रियाप्रति आक्रोश व्यक्त गरेका छन् । उनले केही ईयू सदस्य राष्ट्रले सङ्कटका बेला सहयोग र ऐक्यबद्धता देखाउनुको सट्टा स्पेनमाथि ‘आक्रमण’ गरेर राजनीतिक लाभ लिन खोजेको आरोप लगाएका छन् । उनको सङ्केत मुख्यतः इटालीतर्फ थियो ।

इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको कट्टर दक्षिणपन्थी पार्टी फ्रातेली द’इटालियाले सेउताका सडकमा आप्रवासीहरू दौडिरहेको दृश्य तत्काल सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।

पोस्टमा लेखिएको थियो, ‘इटालीको वामपन्थले निकै मन पराउने सान्चेज मोडल यही हो ।’

त्यसपछि मेलोनीले सुरक्षा खतराको कारण देखाउँदै स्पेनसँगको इटालीको शेङ्गेन सम्झौता निलम्बन गर्ने घोषणा गरिन् । उक्त सम्झौताले दुवै देशबिच मानिसको स्वतन्त्र आवतजावतलाई सहज बनाउँछ । म्याड्रिड यसबाट निकै आक्रोशित छ ।

e9f35dd0-8e04-11f1-8260-77b5a00af894.jpg

स्पेनको दृष्टिकोणमा सङ्कट नियन्त्रणमा आइसकेको छ । साथै, सेउता शेङ्गेन क्षेत्रमा पर्दैन । त्यसैले मोरक्कोबाट आएका आप्रवासीहरूलाई कुनै जाँचबिनै मुख्य युरोपतर्फ जान सम्भव थिएन । मेलोनीलाई यो कुरा थाहा छ ।

तर अर्को वर्ष इटालीमा निर्वाचन हुँदैछ र उनको गठबन्धनले नयाँ तथा अत्यन्तै आप्रवासनविरोधी दलसँग समर्थन गुमाउँदै गएको छ । यस्तो अवस्थामा आफूलाई कठोर देखाउने र मतदाता फिर्ता ल्याउने अवसर मेलोनीले देखिन् र उनले त्यसलाई तुरुन्तै राजनीतिक रूपमा उपयोग गरिन् ।

के आप्रवासका विषयमा स्पेन नरम छ ?

स्पेनलाई आप्रवासनका विषयमा नरम मान्ने इटालीमात्र होइन । मेलोनीले मंगलबार ईयूका गृहमन्त्रीहरूको आकस्मिक बैठक बोलाउन गरेको आह्वानमा करिब दुई दर्जन ईयू राष्ट्रका प्रमुखले समर्थन जनाएका छन् । उनीहरूले युरोपतर्फ आप्रवासी आकर्षित गर्ने ‘पुल फ्याक्टर’ बन्न सक्ने सबै नीतिहरू हटाउन आह्वान गरेका छन् ।

उनीहरूको मुख्य निशाना स्पेनको विवादास्पद निर्णय हो, जसअन्तर्गत दसौँ लाखको सङ्ख्यामा नभए पनि सयौँ हजार कागजातविहीन आप्रवासीलाई बसोबास र काम गर्ने अनुमति माग्ने तथा आफ्नो कानुनी हैसियत नियमित बनाउने अवसर दिइएको छ ।

स्पेन सरकारको तर्क व्यावहारिक छ— देशको जनसङ्ख्या वृद्ध हुँदै गएको छ र उसलाई श्रमिक आवश्यक छ, तर यस साता सेउताका समुद्री किनारमा जम्मा भएका आप्रवासीहरू त्यहाँ पुगेर उक्त अभियानमा सहभागी हुन खोजिरहेका थिएनन् । त्यो कार्यक्रम पहिले नै बन्द भइसकेको थियो ।

सान्चेजले यसको सट्टा स्पेनको सर्वोच्च अदालतको हालैको एउटा फैसलातर्फ सङ्केत गरेका छन् । अदालतले समुद्री मार्गबाट स्पेन प्रवेश गरेका मानिसलाई तत्कालै फर्काउन नमिल्ने फैसला गरेको थियो ।

प्रधानमन्त्री सान्चेजको दाबी छ, मानव तस्करहरूले उक्त फैसलालाई गलत रूपमा प्रस्तुत गर्दै युरोप प्रवेश गर्न सहज भएको सन्देश फैलाएका थिए, तर सेउता पुग्न अधिकांश मानिस मोरक्कोकै भएकाले उनीहरूलाई तस्करलाई पैसा तिर्न आवश्यक थिएन । समुद्री मार्ग पनि उनीहरूका लागि परिचित थियो ।

सामाजिक सञ्जालबाट फैलिएको सन्देश

वास्तवमा आप्रवासीहरूलाई सेउता पुग्न प्रेरित गर्ने सन्देश अनलाइन फैलाइएको थियो । आप्रवासीहरूले पत्रकारहरूलाई सामाजिक सञ्जालका पोस्टहरू देखाएका छन् । ती पोस्टमा मानिसहरू ‘स्पेन खुला छ’ भन्दै चिच्याइरहेका र समुद्रमा हाम फालिरहेका देखिन्छन् ।

हामीले आफैँ जाँच गरेका विभिन्न सामाजिक सञ्जाल खातामा पनि वेटसुट र पौडी खेल्ने फिन लगाएका युवाहरू, समुद्रमा पौडिरहेको अवस्थामा आफूलाई भिडियो खिचिरहेका मानिसहरू तथा सेउताभित्रका दृश्यहरू पोस्ट गरिएका भेटिए ।

तीमध्ये केही खाता केही साताअघि मात्र सक्रिय भएका थिए । धेरै पोस्टमा दसौँ हजार लाइक थिए, तर ती सबै कुरा झुटा साबित भए ।

सेउताको किनारमा पुगेर खुसी हुँदै जमिन चुम्ने आप्रवासीहरूको भिडले त्यहाँ कुनै नयाँ अवसर पाएन । उनीहरूसँग खानेकुरा वा आश्रय थिएन र मुख्य युरोपतर्फ जाने बाटो पनि थिएन । त्यसैले अधिकांश मानिस छिट्टै फर्किए ।

आखिर यो सबै किन भयो ?

के केही वर्षअघि बेलारुसमा भएको जस्तै आप्रवासीहरूलाई राजनीतिक हतियारका रूपमा प्रयोग गरिएको हो ? यदि त्यसो हो भने, कसले गर्‍यो ?

अहिलेसम्म यसको स्पष्ट उत्तर छैन, तर यसको परिणामबाट फाइदा उठाइरहेका शक्तिहरू भने देखिन थालेका छन् । स्पेनको एल पाइस पत्रिकामा पत्रकार आन्द्रेआ रिज्जीले लेखेझैँ विश्वभरको दक्षिणपन्थी राजनीति यस घटनाबाट ‘खुसीले उफ्रिरहेको’ छ ।

स्पेनले इरानमाथिको आफ्नो युद्धको विरोध गरेपछि स्पेनसँग असन्तुष्ट रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटनालाई ‘विनाश’ र ‘आक्रमण’का रूपमा चित्रण गरेका छन् । अमेरिकामा पनि निर्वाचन नजिकिँदैछ ।

रुसले पनि घटनामाथि व्यङ्ग्य र खुसी व्यक्त गरेको छ । युरोपमा अराजकता र विभाजन उत्पन्न हुनु रुसका लागि फाइदाजनक हुन्छ, विशेषगरी युक्रेनका सहयोगीहरूलाई कमजोर पार्ने कुनै पनि घटनाबाट ।

मोरक्कोले भने घटनाका लागि ‘आपराधिक संगठनहरू’लाई दोष दिएको छ । तर ठुलो सङ्ख्यामा मानिस सीमा क्षेत्रमा जम्मा हुँदै गर्दा मोरक्कोका सीमा सुरक्षाकर्मीले त्यो देखेको हुनुपर्ने अनुमान गरिएको छ ।

यसअघि पनि यस्तै घटना भएको थियो, यद्यपि त्यो यस पटकभन्दा सानो थियो । त्यतिबेला स्पेन र मोरक्कोबिच पश्चिमी सहाराको विषयमा तीव्र तनाव थियो । पश्चिमी सहारा पहिले मोरक्कोको छिमेकी क्षेत्रसँग जोडिएको स्पेनिस उपनिवेश थियो ।

अहिले पनि दुई देशबिच नयाँ तनाव देखिएका छन् । तर सान्चेजले अहिलेसम्म घटनाका लागि मोरक्कोलाई दोष दिएका छैनन् । उनले मोरक्कोलाई ‘असल सहयोगी’ भन्दै आएका छन् ।

उनका आलोचकहरूले भने यसलाई तुष्टीकरणको नीति भन्दै सान्चेजले मोरक्कोप्रति ‘कडा रवैया देखाउनुपर्ने’ बताएका छन् ।

अब के हुन्छ ?

अहिले स्पेन थप यस्तै घटना हुन नदिन सेउताको सुरक्षा मजबुत बनाउन व्यस्त छ । उसले समुद्री क्षेत्रमा सीमा सुरक्षा संरचना विस्तार गरिरहेको छ । घाटसम्म लामो दुरीमा सुन्तला रङका तैरिने अवरोधहरू जडान गरिँदैछ । भविष्यमा समुद्रमा पौडिएर सेउता प्रवेश गर्ने प्रयास रोक्न त्यहाँ पानीजहाजले गस्ती गर्नेछन् ।

अर्को साता ईयूका गृहमन्त्रीहरूले बाह्य सीमा थप मजबुत बनाउने विषयमा छलफल गर्नेछन् । यस घटनापछि युरोपका लोकप्रियतावादी दक्षिणपन्थी शक्तिहरू थप उत्साहित भएका छन् ।

स्पेनबाट इटाली जाने यात्रुहरूले पनि केही सातासम्म प्रहरीको आकस्मिक कागजात जाँचको सामना गर्नुपर्नेछ । त्यसैले तत्काल ठुलो परिवर्तन देखिएको छैन ।

तर परिवर्तनको वास्तविक मूल्य भने ती दर्जनौँ युवाले चुकाएका छन्, जो सामाजिक सञ्जालमा देखेको एउटा सपनाको पछि लाग्दै समुद्रमा उत्रिए । र, अहिले उनीहरूमध्ये कतिलाई त शवको रुपमा मोरक्को फर्काइँदैछ ।

कमेन्टहरु