दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास
यूएईमा ३२औँ विश्व आदिवासी दिवस भव्य रूपमा मनाइँदै, विविध सांस्कृतिक कार्यक्रमको तयारी पूरा


प्रवास दुबई|
नेपाल आदिवासी जनजाति महासंघ, यूएई (NEFIN UAE) को आयोजनामा ३२औँ विश्व आदिवासी दिवस–२०२६ आगामी ९ अगस्ट २०२६ (आइतबार) दुबईस्थित CLUB SK7, Dubai मा भव्य रूपमा आयोजना हुने भएको छ। यूएईमा रहेका आदिवासी जनजातीय समुदायबीच आपसी एकता, सांस्कृतिक संरक्षण तथा पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।
विश्व आदिवासी दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष अगस्ट ९ का दिन विश्वभर मनाइँदै आइएको छ। आदिवासी समुदायको मौलिक पहिचान, भाषा, संस्कृति, परम्परा, ज्ञान, सीप तथा अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले मनाइने यस दिवसले विश्वभरका आदिवासी समुदायलाई एउटै साझा मञ्चमा जोड्ने काम गर्दै आएको छ। यस वर्षको अन्तर्राष्ट्रिय नारा “Honouring Indigenous Midwives: Safeguarding Life and Well-being” रहेको छ।
दिउँसो १२:०० बजेदेखि सुरु हुने कार्यक्रममा यूएईभर रहेका विभिन्न आदिवासी जनजातीय संघसंस्था, सामाजिक अभियन्ता, पत्रकार, बुद्धिजीवी, युवा तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममा तामु, मगर, तामाङ, राई, लिम्बू, नेवार, शेर्पा, थारु, भुजेल, सुनुवार, कुमाल, राजवंशी लगायतका समुदायहरूले आफ्नो मौलिक संस्कृति, परम्परागत भेषभूषा, भाषा, लोकनृत्य, सांस्कृतिक झाँकी तथा मौलिक प्रस्तुति प्रदर्शन गर्नेछन्।
यस वर्षको कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र भव्य बनाउन YFIN UAE ले सह–आयोजक (Co-organizer) को भूमिका निर्वाह गर्नेछ। त्यस्तै फोनिज यूएई (FONIJ UAE) आधिकारिक मिडिया पार्टनर का रूपमा कार्यक्रमका सम्पूर्ण गतिविधिलाई समाचार, फोटो तथा भिडियोमार्फत विश्वभरका नेपाली समुदायसम्म पुर्याउनेछ। त्यसैगरी Axis Graphics ले ग्राफिक्स पार्टनर का रूपमा कार्यक्रमका सम्पूर्ण डिजाइन, प्रचार–प्रसार सामग्री तथा दृश्य पहिचान निर्माणमा सहकार्य गर्नेछ।
आयोजकका अनुसार कार्यक्रम केवल सांस्कृतिक उत्सवमा सीमित नरही आदिवासी समुदायका अधिकार, समानता, समावेशिता, भाषा संरक्षण, मौलिक संस्कृतिको जगेर्ना तथा भावी पुस्तामा सांस्कृतिक हस्तान्तरणको सन्देश प्रवाह गर्ने साझा अभियानका रूपमा सञ्चालन गरिनेछ। यस अवसरमा विभिन्न समुदायबीच अनुभव आदानप्रदान, आपसी सद्भाव र सहकार्यलाई थप मजबुत बनाउने विश्वास समेत व्यक्त गरिएको छ।
नेपाल आदिवासी जनजाति महासंघ, यूएईले यूएईमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई परिवार, साथीभाइ र समुदायसहित कार्यक्रममा उपस्थित भई ३२औँ विश्व आदिवासी दिवस–२०२६ लाई ऐतिहासिक, सभ्य र भव्य बनाउन हार्दिक अनुरोध गरेको छ। साथै आदिवासी समुदायको पहिचान, अधिकार, भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सबैको साझा ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सबैको सक्रिय सहभागिताको अपेक्षा गरेको छ।





















