बिश्व

खडेरीका कारण हंगेरीले बन्द गर्दै छ आफ्नो एकमात्र परमाणु ऊर्जा केन्द्र

एजेन्सी
२०८३ साउन १७ | बिहान १०:०४ बजे

बुढापेष्ट । हंगेरीले ड्यान्युब नदीमा पानीको सतह ऐतिहासिक रूपमा घटेपछि आफ्नो एकमात्र परमाणु ऊर्जा केन्द्र पाक्स आणविक ऊर्जा प्लान्ट आइतबारदेखि पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री पिटर म्याग्यारका अनुसार सन १९८२ मा सञ्चालनमा आएको यो केन्द्र ४४ वर्षको इतिहासमा पहिलो पटक पूर्ण रूपमा बन्द हुन लागेको हो । यस केन्द्रबाट हंगेरीको करिब ५० प्रतिशत विद्युत् उत्पादन हुँदै आएको छ ।

प्रधानमन्त्रीले शुक्रबार ऊर्जा उत्पादन ९६५ मेगावाटमा झरेको र रातारात २४० मेगावाट मा पुगेको बताए । सामान्य अवस्थामा यस केन्द्रले करिब २,००० मेगावाट विद्युत् उत्पादन गर्ने गर्दछ । सोभियत संघको सहयोगमा निर्माण गरिएको चार रिएक्टर भएको यो केन्द्रले ड्यान्युब नदीको पानी रिएक्टर चिस्याउन प्रयोग गर्छ । तर लामो समयदेखिको अत्यधिक गर्मी र खडेरीका कारण नदीको पानीको सतह अत्यन्त घटेपछि पम्पहरूले पर्याप्त पानी तान्न नसक्ने अवस्था सिर्जना भएको छ ।

अधिकारीहरूका अनुसार पाक्स क्षेत्रमा नदीको सतह –१३४ सेन्टिमिटर पुग्दा केन्द्र पूर्ण रूपमा बन्द गर्नुपर्ने हुन्छ । पानीको सतह अझ घटेर –१४४ सेन्टिमिटर सम्म पुग्ने अनुमान गरिएको छ, जुन सन २०१८ को –९८ सेन्टिमिटर को पुरानो रेकर्डभन्दा निकै कम हो ।

ड्यान्युब नदी जर्मनीबाट बग्दै कालो सागरसम्म पुग्छ। हाल युरोपभर फैलिएको अत्यधिक गर्मी र खडेरीका कारण यससहित धेरै नदीहरूको पानीको सतह घटेको छ । हंगेरीले १०० भन्दा बढी सहर र गाउँमा पानी प्रयोगमा प्रतिबन्ध लगाएको छ भने धेरै पानी प्रयोग गर्ने उद्योगहरूलाई स्वेच्छाले खपत घटाउन आग्रह गरेको छ । यस जलवायु संकटले हंगेरीमा जल यातायात, पर्यटन, कृषि र उद्योगमा समेत ठूलो असर पारेको छ। छिमेकी स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले आफ्नो देशले ऊर्जा अवस्थाको नजिकबाट निगरानी गरिरहेको र आवश्यक परे सहयोग गर्न तयार रहेको बताएका छन् ।

कमेन्टहरु