जेसिज सम्मेलनले झापाको पर्यटन र स्थानीय व्यापारमा टेवा पुग्ने विश्वास

रासस
२०८३ साउन १७ | बिहान ०७:०४ बजे

झापा । झापाको चारआलीमा आगामी असोज ९ र १० गते हुने नेपाल जेसिज क्षेत्र ‘क’ सम्मेलनले स्थानीय व्यापार, पर्यटन तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।
सम्मेलनमा पूर्वी नेपालका ४६ शाखाबाट करिब ५०० प्रतिनिधिको सहभागिता रहने भएकाले होटल, रेस्टुरेन्ट, यातायात तथा सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक प्रभाव पर्ने विश्वास गरिएको आयोजकले आज पत्रकार सम्मेलन गरी जनाएको छ ।
स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता, लगानी तथा एआईमा आधारित डिजिटल मार्केटिङ तालिम, थिम सेमिनार र अन्तर–शाखा वक्तृत्वकला प्रतियोगितासमेत सञ्चालन गरिने कार्यक्रम संयोजक तथा नेपाल जेसीजका पूर्वअध्यक्ष उत्तम पकुवालले बताए । उनका अनुसार सम्मेलनले युवा नेतृत्वसँगै उद्यमशीलता र स्थानीय आर्थिक गतिविधिलाई जोड्ने काम गर्नेछ ।






















