देश

ब्रोड पिकको काखमा अस्ताएका कीर्तिमानी आरोही निर्मल पुर्जा को हुन् ?

एजेन्सी
२०८३ साउन १६ | मध्यान्ह ०६:०४ बजे

काठमाडौं । नेपालमा जन्मिएका प्रख्यात पर्वतारोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको ब्रोड पिक हिमालमा खसेको हिमपहिरोमा परी ४३ वर्षको उमेरमा उनको निधन भएको पुर्जाको कम्पनी एलाइट एक्स्पेडिसनले जनाएको छ ।

‘निम्स दाइ’का नामले पनि चिनिने निर्मल पुर्जा पाकिस्तान–शासित गिल्गित–बाल्टिस्तानमा रहेको आठ हजार ४७ मिटर अग्लो हिमाल ब्रोड पिकमा बिहीबार (जुलाई ३०) हिमपहिरोमा परी बेपत्ता भएका १० आरोहीमध्ये एक थिए । वर्तमान पर्वतारोहण क्षेत्रका सबैभन्दा चर्चित व्यक्तिहरूमध्ये एक, बेलायती–नेपाली आरोही पुर्जाका नाममा धेरै कीर्तिमान छन् ।

तर, उनको सबैभन्दा प्रसिद्ध सफलता सन् २०१९ मा स्थापित भएको थियो । त्यति बेला उनले विश्वका १४ अग्ला चुचुरो मात्र ६ महिनाभन्दा केही बढी समयमा आरोहण गरेका थिए । कसैले यति छोटो समयमा कायम गरेको त्यो पहिलो कीर्तिमान हो ।

सैन्य सेवादेखि पर्वतारोहणसम्म 
पुर्जाको जन्म नेपालको हिमाली जिल्ला म्याग्दीको समुद्री सतहबाट करिब एक हजार ६०० मिटरको उचाइस्थित एउटा सानो गाउँमा भएको थियो । आफ्नो बुवा र दाजुहरूको पदचाप पछ्याउँदै उनी १८ वर्षको उमेरमा सन् २००३ मा बेलायती सेनामा भर्ती भए । र, २००९ मा ‘रोयल मरीन’ बने ।

बेलायती सेनामा बिताएको १६ वर्षको अवधिमा उनको पर्वतारोहणप्रति रुचि जाग्यो । सन् २०१२ मा उनी सगरमाथा आधार शिविरसम्म पैदल गए । र, योजनाअनुसार काठमाडौं फर्कनुको साटो उनले आरोहण सिक्ने निर्णय गरेका पुर्जाको वेबसाइटमा उल्लेख छ ।

उनले चाँडै नै ६ हजार ११९ मिटर अग्लो लोबुचे इस्ट आरोहण गरे । त्यो उनको पहिलो आरोहण थियो ।

बिहीबार सामाजिक सञ्जाल एक्समा प्रकाशित उनको अन्तिम पोस्टमा पुर्जाले आफूले ब्रोड पिक आरोहण गर्ने योजना नबनाएको बताएका थिए । “सुरुमा गासेरब्रुम–२ मात्र आरोहण गर्ने योजना थियो,” काराकोरम हिमाल शृंखलामा रहेको अर्को चुचुरोलाई संकेत गर्दै उनले लेखेका थिए ।

तर, पाकिस्तानतर्फ प्रस्थान गर्नुअघि नै उनले यदि त्यहाँ छँदै ब्रोड पिक आरोहण गर्न सफल भए बिनाअक्सिजन आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल दुईपटक चढ्ने आफू इतिहासकै पहिलो व्यक्ति बन्न मात्र एउटा चुचुरोको शिखर चुम्न बाँकी रहनेछ भन्ने महसुस गरे ।

विश्वमा समुद्री सतहबाट आठ हजार मिटरभन्दा अग्ला हिमाल १४ वटा मात्र छन् । “यो पहिले तय गरिएको थिएन,” पुर्जाले लेखेका थिए, “तर, अवसर चिच्याउँदैनन्, तिनीहरू मौनतामा काम गरिरहेकाहरूसँग सुस्केरा हालेर संकेत गर्छन् ।”

उनले अगाडि लेखेका थिए, “ब्रोड पिक, म माथि जाने र सुरक्षित फर्कने बाटोबाहेक अरू केही माग्दिनँ । म कुनै पनि हिमाललाई हल्का रूपमा लिन्नँ ।”

उनले यही जुलाई २१ मा गासेरब्रुम–२ को सफल आरोहण गरेका थिए । त्यो उनको आठ हजार मिटरभन्दा अग्लो हिमालको ५७औँ आरोहण थियो । यसबारे उनले एक्स पोस्टमा लेखेका थिए ।

उनी जति चर्चित हुँदै गए, त्यति नै आलोचकबाट संशयको सामना गर्नुपर्‍यो । उनको व्यवहारका विषयमा चिन्ताजनक आरोप पनि सार्वजनिक भएको थियो ।

सन् २०२४ मा द न्युयोर्क टाइम्सको एउटा लेखमा दुई महिलाले पुर्जामाथि लगाएको यौन दुर्व्यवहारको आरोपबारे उल्लेख थियो । एक महिलाले पुर्जाले सन् २०२३ मा होटेलको कोठामा आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । अर्की महिलाले पुर्जाले सन् २०२२ मा के–टु अभियानमा मार्गदर्शन गर्दा आफूलाई जबर्जस्ती समातेको र अनुचित प्रस्ताव राखेको बताएकी थिइन् । उनले आफ्ना वकिलमार्फत यी दाबीको खण्डन गरेका थिए ।

१४ चुचुरो आरोहण
पर्वतारोहणका उपलब्धिका निम्ति बेलायती रानी एलिजाबेथ द्वितीयाले सन् २०१८ मा उनलाई नागरिक सम्मान ‘एमबीई’बाट विभूषित गरेकी थिइन् । त्यसको पछिल्लो वर्ष उनले हालसम्मकै सबैभन्दा महत्त्वाकांक्षी चुनौतीको निर्णय गरे । त्यो भनेको सबैभन्दा छोटो समयमा १४ चुचुरो आरोहणको कीर्तिमान कायम गर्ने थियो ।

यस्तो कीर्तिमान यसअघि करिब आठ वर्ष समयावधिमा कायम थियो । पुर्जाले सन् २०१९ मा त्यो कार्य ६ महिना ६ दिनमा पूरा गरे । ‘प्रोजेक्ट पसिबल’ नाम दिइएको उनको उक्त यात्रालाई ‘१४ पिक्स : नोथिङ इज यम्पोसिबल नामको वृत्तचित्रमा कैद गरिएको थियो ।

यो वृत्तचित्रले अरूलाई पनि आफ्ना सपना पछ्याउन प्रेरणा दिने आशा उनले व्यक्त गरेका थिए । “यो हिमाल चढ्ने कुरा मात्र होइन, यो त आफ्नो लक्ष्य पछ्याउने कुरा हो,” वृत्तचित्र रिलिज हुँदा उनले बीबीसीसँग भनेका थिए ।

त्यो अभियानको आयोजना गर्नु सजिलो थिएन । १४ चुचुरो आरोहणको प्रयासका निम्ति खर्च जुटाउन उनले आफ्नो घर धितो राख्नुपरेको थियो । यो सबै कार्यमा पुर्जालाई उनकी पत्नी सुचीले साथ दिएकी थिइन् । एजेन्सीको सहयोगमा ।

आफ्नो चुनौती खतरनाक र शारीरिक रूपमा अत्यन्त कठिन प्रकृतिको भएपनि पुर्जाले रमाइलो गर्न नभुलेको बताएका थिए ।

कमजोर बनेका आरोहीको उद्धार गर्ने र विश्व कीर्तिमान पछ्याउनेका बीच पुर्जा र उनको टोलीका साथीहरू राति आफ्नो क्याम्पमा पार्टी गर्थे । उनले कम्तीमा एउटा चुचुरो त पार्टीपछिको अवस्थामा आरोहण गरेको भन्ने विषय वृत्तचित्रमा देखाइएको छ ।

सन् २०१९ मेमा सगरमाथाको चुचुरोनजिकैबाट उनले शिखरमा पुग्नका निम्ति लामबद्ध आरोहीको एउटा तस्बिर खिचेका थिए । त्यसलाई ‘एभरेस्ट ट्राफिक जाम’ले चिनिएको थियो । त्यो ‘ट्राफिक जाम’को तस्बिर ‘भाइरल’ भयो । र, त्यसले विश्वको सबैभन्दा अग्लो चुचुरोमा हुने खतरनाक अत्यधिक भीडभाडबारे बहस जन्माएको थियो ।

‘प्रोजेक्ट पसिबल’को सफलतापछि पुर्जा एक आरोहण ‘सुपरस्टार’का रूपमा नेपाल फर्किए । त्यसयता उनले एक आरोहण मार्गदर्शन कम्पनी र पर्वतारोहणका पोसाकहरूको ब्रान्ड स्थापना गरेका छन् । उनले आफ्नो नयाँ पहिचानलाई नेपाली पर्वतारोही गाइडहरूका निम्ति आवाज उठाउन पनि प्रयोग गरे । उनले विदेशी आरोहीको उच्चस्तरीय आरोहणमा सहयोग गर्ने उनीहरूको कामलाई थप मान्यता दिनुपर्ने माग गरे ।

यसै हप्ता एक्समा गरिएको आफ्नो अन्तिम पोस्टमा उनले लेखेका थिए, “यो पोस्ट मलाई यहाँसम्म पुर्‍याउने सबैप्रति समर्पित छ । समर्थकहरू, आलोचकहरू, तपाईंहरू सबै । दुवै पक्ष नभई आगो बल्दैन । त्यसैले हृदयदेखि नै धन्यवाद ।” एजेन्सी

कमेन्टहरु