प्यालेस्टिनी झण्डा प्रदर्शनपछि ‘म्यासिभ अट्याक’ लाई सिङ्गापुरमा प्रतिबन्ध


काठमाडाैँ । कन्सर्टका क्रममा प्यालेस्टिनी झण्डा प्रदर्शन गरेको पुष्टि भएपछि बेलायती ट्रिप–हप ब्यान्ड ‘म्यासिभ अट्याक’ लाई सिङ्गापुरमा भविष्यमा प्रस्तुति दिन प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार आयोजित कन्सर्टका क्रममा मञ्चमा प्यालेस्टिनी झण्डा प्रदर्शन गर्ने ब्यान्डका दुई सदस्यलाई कडा चेतावनी दिइएको छ । साथै उनीहरूलाई सिङ्गापुरमा पुनःप्रवेश गर्न पनि प्रतिबन्ध लगाइएको छ । यद्यपि, उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ब्यान्डका दुई सदस्यले मञ्चमा प्यालेस्टिनी झण्डा फहराएको तथा तीमध्ये एकले ‘फ्रि प्यालेस्टाइन’ भन्ने नारा लगाएको देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
अनुसन्धान पूरा गरी सरकारी वकिलसँग परामर्श गरेपछि प्रहरीले दुवै सदस्यलाई चेतावनी दिँदै सिङ्गापुर प्रवेशमा प्रतिबन्ध लगाइएको जनाएको छ । सिङ्गापुरको मिडिया नियामक निकायले पनि कन्सर्ट आयोजकले लाइसेन्सका सर्त उल्लङ्घन गरेको हुन सक्ने विषयमा छुट्टै अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरीका अनुसार आयोजकले लाइसेन्सका सबै सर्त स्वीकार गरे पनि कार्यक्रमका क्रममा ब्यान्डका सदस्यहरूले विदेशी झण्डा प्रदर्शन गरेका थिए । यसैलाई आधार बनाएर भविष्यमा उक्त ब्यान्डलाई सिङ्गापुरमा प्रस्तुति दिन अनुमति नदिने निर्णय गरिएको छ ।
कन्सर्ट आयोजकले एएफपीको प्रतिक्रिया माग्ने अनुरोधको तत्काल जवाफ दिएको छैन । गाजामा इजरायली सैन्य कारबाहीको आलोचना गर्दै आएको ‘म्यासिभ अट्याक’ प्यालेस्टिनी पक्षको समर्थनमा खुलेर आवाज उठाउने ब्यान्डका रूपमा परिचित छ ।
गत अप्रिलमा बेलायतमा प्रतिबन्धित अभियानकारी समूह ‘प्यालेस्टाइन एक्सन’को समर्थनमा लन्डनको ट्राफलगर स्क्वायरमा आयोजित प्रदर्शनमा पक्राउ परेका २०० भन्दा बढी व्यक्तिमध्ये ब्यान्डका प्रमुख गायक रोबर्ट डेल नाजा पनि थिए ।
दक्षिण–पूर्वी एसियाको प्रमुख कन्सर्ट गन्तव्यका रूपमा परिचित सिङ्गापुरले हालै टेलर स्विफ्ट, कोल्डप्ले, एड शिरान र ब्रुनो मार्सजस्ता अन्तरराष्ट्रिय कलाकारका प्रस्तुति आयोजना गरेको छ । प्रहरीले विदेशी नागरिकसहित सबैलाई विदेशी राजनीतिक मुद्दालाई सिङ्गापुरमा नल्याउन आग्रह गर्दै त्यसले सामाजिक सद्भाव र कानुनको शासनमा असर पार्न सक्ने चेतावनी दिएको छ ।





















