प्रबास

जीन सम्पादनका कारण ६ वर्षीया बालिकाको मृत्यु भएपछि चीनमा बबाल

एजेन्सी
२०८३ साउन १५ | मध्यान्ह १२:०४ बजे

बेइजिङ । चीनको एक शीर्ष मेडिकल युनिभर्सिटीले आफ्नो सम्बद्ध अस्पतालका एक अग्रणी विशेषज्ञद्वारा गरिएको प्रयोगात्मक जीन–सम्पादन परीक्षणमा एक युवतीको मृत्युको अनुसन्धान गरिरहेको छ जसले चीनको बढ्दो बायोमेडिकल उद्योगमा नैतिकताको बारेमा गम्भीर चिन्ताहरू उठाएको छ ।

सांघाई जियाओटोङ युनिभर्सिटी स्कूल अफ मेडिसिनले गत वर्ष सिन्ह्वा अस्पतालमा गरिएको क्लिनिकल परीक्षण र सम्बन्धित वैज्ञानिक पत्रको व्यापक अनुसन्धान गर्न एक कार्य समूह स्थापना गरेको बताएको छ । स्नायु वैज्ञानिक चिउ जिलोंगमाथि ६ वर्षीया एक बालिकाको प्रयोगात्मक जीन सम्पादन उपचारपछि मृत्यु भएको घटनामा अनुसन्धान सुरु गरिएको हो ।

रिपोर्टअनुसार मेई नामकी ६ वर्षीया बालिकालाई दुर्लभ आनुवंशिक स्नायु विकाससम्बन्धी रोगको उपचारका लागि नयाँ जीन सम्पादन प्रविधि प्रयोग गरिएको थियो । उपचारका क्रममा शरीरमा बेस एडिटर तयार गर्ने निर्देशन बोकेका खर्बौँ भाइरसहरू मेरुदण्डको तरल पदार्थमार्फत प्रविष्ट गराइएको थियो ।

तर उपचारपछि बालिकामा गम्भीर प्रतिरक्षा प्रतिक्रिया देखियो र सात दिनपछि उनको मृत्यु भयो । बालिकाका अभिभावकले उपचारकै कारण भएको प्रतिरक्षा प्रतिक्रियाले मृत्यु भएको दाबी गरेका छन् । रिपोर्टअनुसार उक्त क्लिनिकल परीक्षणका लागि आवश्यक खर्चमध्ये करिब ८ लाख ६० हजार अमेरिकी डलर बालिकाका अभिभावकले आफ्नै बचत र आफन्तको सहयोगबाट जुटाएका थिए ।

दस्तावेजहरूका अनुसार सिन्ह्वा अस्पतालले राष्ट्रिय नियामक निकायको स्वीकृति आवश्यक नपर्ने विशेष कानुनी व्यवस्थाअन्तर्गत परीक्षण सञ्चालन गर्न अनुमति दिएको थियो । रिपोर्टले बालिकाको मृत्युबारे यस वर्ष प्रकाशित वैज्ञानिक जर्नल नेचरको अनुसन्धान पत्रमा कुनै उल्लेख नगरिएको आरोप लगाएको छ । साथै, उपचार परीक्षण गरिएका बाँदरहरूमा कलेजो र मिर्गौलासम्बन्धी समस्या देखिएको तथ्य पनि अनुसन्धान पत्रमा समावेश नगरिएको दाबी गरिएको छ । विश्वविद्यालयले भने अनुसन्धान नैतिकता र मापदण्डको कडाइका साथ पालना गर्ने प्रतिबद्धता जनाउँदै अनुसन्धानको नतिजाअनुसार आवश्यक कारबाही गरिने जनाएको छ ।

चिउ जिलोंगले घटनाबारे प्रत्यक्ष टिप्पणी गर्न अस्वीकार गर्दै सबै जानकारी विश्वविद्यालयको चिकित्सा विद्यालयले नै दिने बताएका छन् । यो घटनालाई चीनको चर्चित सन् २०१८ को जीन सम्पादन शिशु प्रकरणसँग तुलना गरिएको छ । त्यतिबेला वैज्ञानिक हे जियानकुई ले विश्वकै पहिलो जीन सम्पादन गरिएका शिशु जन्माएको घोषणा गरेपछि विश्वव्यापी आलोचना भएको थियो ।

अवैध चिकित्सा अभ्यास गरेको ठहर गर्दै उनलाई तीन वर्षको जेल सजाय सुनाइएको थियो । रोचक कुरा के छ भने त्यति बेला हे जियानकुईको कार्यको विरोध गर्दै १०० भन्दा बढी चिनियाँ वैज्ञानिकहरूले हस्ताक्षर गरेको खुला पत्रमा चिउ जिलोंग पनि सहभागी भएका थिए । त्यसबेला उनले मानवमा सुरक्षित भएको प्रमाणबिना गरिएको यस्तो प्रयोगले जैविक चिकित्सा नैतिकताको पूर्ण उल्लङ्घन गरेको भनेका थिए ।

कमेन्टहरु